प्रस, निजगढ, १५ असार/
उच्चस्तरीय सुकुमबासी समस्या समाधान आयोग बाराले व्यवस्थित बसोवास प्रयोजनका लागि वितरण गरेको जग्गाधनी पुर्जा हालसम्म पनि चलनचल्तीमा नल्याइएको जनाउँदै सङ्घर्षका कार्यक्रम घोषणा गरिएको छ । शनिवार निजगढ गाविसको सभाहलमा पत्रकार सम्मेलन गरी जग्गाधनी प्रमाण पुर्जा सङ्घर्ष समिति निजगढले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
वितरीत जग्गाधनी प्रमाण पुर्जा चलनचल्तीमा ल्याउन, विभागीय परिपत्रको कार्यान्वयन गर्न, ०६७ को सुकुमबासी समस्या समाधान आयोगले नियमन गरी तयार पारेको पुर्जा वितरण गर्नलगायतका माग राख्दै सङ्घर्ष गर्ने सङ्घर्ष समितिले जनाएको छ । घोषित कार्यक्रममा यही असार २४ गते भूमि सुधार कार्यालय बारा, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय बारामा १/१ घण्टा घेराउ गर्ने जानकारी दिएको छ । त्यसपछि कुनै सुनुवाइ नभए लोकमार्गको निजगढ सडकमा चक्काजामसमेत गर्ने चेतावनी दिएको छ ।
सम्बन्धित माथिल्लो निकायहरूबाट कुनै बाधा अड्चन नरहेपनि मालपोत कार्यालय बाराले विभिन्न बहाना बनाउँदै पुर्जा चलनचल्तीमा ल्याउन र वितरण गर्न आनाकानी गरिरहेको सङ्घर्ष समितिले आरोप लगाएको छ । सङ्घर्ष समितिकी अध्यक्ष सावित्रीदेवी भारतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय सञ्चारकर्मी, पीडित स्थानीयवासीलगायतको उपस्थिति थियो ।
प्रस, पथलैया/
दुई वर्ष पहिले पाएको जग्गाधनी पुर्जा चलनचल्तीमा आउन नसकेको भन्दै बारा पथलैयाका स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सुकुमबासी समस्या समाधान आयोगले २०६७ मङ्सिरमा वितरण गरेको पुर्जा हालसम्म चलनचल्तीमा आउन नसकेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
पथलैया विकास सङ्घले शनिवार आयोजना गरेको बृहत् भेलामा स्थानीयले पुर्जा चलनचल्तीमा ल्याउन सम्बन्धित निकायले चासो नदेखाएका कारण आन्दोलन गर्ने निर्णय गरेका हुन् । भेलाले पुर्जा चलनचल्तीमा आउन नसक्नुको कारण सम्बन्धित निकायसँग माग गर्नेसमेत निर्णय गरेको छ ।
समितिले भूमिसुधार मन्त्रालय, भूमि व्यवस्था विभाग, जिल्ला मातपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला भूमिसुधार कार्यालय, जिल्ला प्रशासन कार्यालयसँग पुर्जा चलनचल्तीमा आउन नसक्नुको कारण माग गर्ने निर्णय गरेको भेलाद्वारा गठित सङ्घर्ष समितिका संयोजक उदयबहादुर श्रेष्ठले जानकारी दिए । उनले सम्बन्धित कार्यालयले जवाफ नदिए असार १८ गतेदेखि सडक आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए ।
स्थानीयको भेलाले श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय सङ्घर्ष समिति गठन गरेको छ ।
सङ्घर्ष समितिको नेतृत्वमा पथलैयावासीले जुलुससमेत निकालेका थिए ।
आन्दोलनको सुरुआतमा शान्तिपूर्ण जुलुस निकालिएको संयोजक श्रेष्ठले बताए । उनले दुई वर्ष पहिले नारायण क्षेत्रीको अध्यक्षतामा गठित आयोगले वितरण गरेको करिब छ सय जग्गाधनी पुर्जा चलनचल्तीमा ल्याउन सम्बन्धित निकाय अब पनि गम्भीर नभए कडा आन्दोलनमा जाने बताएका छन् ।