प्रश्न:– कुनै विदेशीले झूटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेमा सजायको प्रावधान छ कि छैन ? छ भने के कति छ ? झूटा विवरणको आधारमा नागरिकता दिलाउन सहयोग गर्नेलाई के कति सजायको प्रावधान छ ? त्यस्तो नागरिकताको के हुन्छ ?
– नीरज गुप्ता, वीरगंज
उत्तर:– झूटो विवरण पेश गरी विदेशीले नागरिकता लिएमा सजायको व्यवस्था छ । नागरिकता ऐन २०६३ को दफा २१ (१) अनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यसरी प्राप्त गरेको नागरिकता स्वत: रद्द हुन्छ ।
झूटो विवरणको आधारमा नागरिकता दिलाउन सनाखत गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा पचीस हजारदेखि पचास हजारसम्म जरिवाना वा दुवै सजायको प्रावधान छ । कसैले नेपाली नागरिकताको झूटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा एक वर्षदेखि ५ वर्षसम्म कैद वा २० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यसैगरी नागरिकता प्रमाणपत्रमा आफूखुशी थपघट गरेमा वा सच्याएमा तीन महिनासम्म कैद वा दस हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनी कानुनी प्रावधान रहेको छ ।
प्रश्न:– कस्तो व्यक्तिलाई बालबालिका मानिन्छ र बालबालिकाले अपराध गरेमा सजाय हुन्छ कि हुँदैन ?
– नरेश साह, वीरगंज
उत्तर:– बालबालिकाहरूको अपराधमा उमेर अनुसार सजायको व्यवस्था छ ।
क) दस वर्षमुनिकोले अपराध गरेमा कुनै सजाय हुँदैन ।
ख) दस वर्षभन्दा माथि र चौध वर्षभन्दा कम उमेर रहेछ भने कानुन बमोजिम जरिवाना हुने मुद्दा रहेछ भने हप्काई, सम्झाईबुझाई र कैद हुने अपराध गरेकोमा कसुर हेरी ६ महिनासम्म कैद हुनेछ ।
ग) चौध वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा मुनिको बालबालिकालाई उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुन्छ ।
घ) बालकलाई अह्राएर कसैले अपराध गराएको छ भने अह्राउने व्यक्तिलाई पूरा सजाय हुने प्रावधान छ ।
प्रश्न: कसैको हत्या भएको घटनामा अनुसन्धानको निम्ति कुनै व्यक्तिलाई पक्राउ गरेको छ भने त्यस व्यक्तिलाई हत्यारा भन्न मिल्छ कि मिल्दैन, हत्यारा पक्राउ भन्ने शीर्षक दिएर समाचार छाप्न मिल्छ कि मिल्दैन ?
– शिवराम
उत्तर: अनुसन्धानको सिलसिलामा पक्राउ भएको व्यक्तिलाई हत्यारा तबसम्म भन्न मिल्दैन जबसम्म उसले हत्या गरेको कुरा अदालतको फैसलाबाट प्रमाणित हुँदैन । अनुसन्धानको लागि पक्राउ परेको व्यक्तिले नै हत्या गरेको हो भन्ने कुरा अदालतको फैसलाले ठहर गरी सकेपश्चात् मात्र हत्यारा भन्न पाइन्छ । अदालतबाट हत्या गरेको कसुर प्रमाणित नहुँदै हत्यारा पक्राउ भन्ने शीर्षक राखेर समाचार लेख्न वा छाप्न मिल्दैन । अदालतको फैसलाबाट ठहर भएपछि छाप्न मिल्छ ।
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव