- चन्द्रकिशोर
बाराका पत्रकार विनोद प्याकुरेलको सडक दुर्घटनामा परि निधन भयो । जीवनमा कैयौंपटक दुर्घटनालाई छल्दै आएका उनलाई आखिर मृत्युले समायो । उनी बारा जिल्लाका पत्रकार महासङ्घका अध्यक्षसमेत भइसकेका थिए । जितपुर क्षेत्रमा उनको विशेष चिनारी थियो । एउटा मिलनसार र सहज स्वभावका धनी थिए, उनी । केही गरौं भन्ने भावना उनको मनमा उर्लिरहन्थ्यो । पत्रकार वीरेन्द्र साह मरिंदाको बखत महासङ्घको नेतृत्वमा उनी नै थिए र उनले त्यतिखेर आन्दोलनलाई अगाडि पनि बढाएका थिए । उनीसँग यस क्षेत्रकै पत्रकारहरूको विशेष घुलमिल थियो, त्यसैेैले उनको अन्तिम बिदाइमा मकवानपुर, पर्सा र बाराका पत्रकारहरूको बाक्लो उपस्थिति थियो । महासङ्घका केन्द्रीय अध्यक्ष शिव गाउँलेसमेत उपस्थित थिए । जीतपुरको व्यस्त सडकमा एउटा टाटा सुमोको ठक्करबाट सख्त घाइते भएका उनको उपचारको चाँजोपाँजो मिलाउने क्रममैं देहान्त भयो । साथीहरूबाट अचानक बिदा हुन पुगेका विनोदको अनुपस्थितिले अनेकौंलाई रुवायो ।
यतिखेर समवेदना प्रकट गर्ने एउटा प्रभावकारी माध्यम सामाजिक सञ्जाल भएको छ । मानिसहरू आफ्ना दु:ख, पीडा, उकुसमुकुस, असहमति वा सुखद अनुभूतिसमेत समाजिक सञ्जालमार्फत् अभिव्यक्त गर्दछन् । यसमा फेसबुक एउटा बलियो माध्यम भएर देखापरेको छ । फेसबुकले सम्बन्धहरूलाई जोड्ने, तत्काल सूचना सम्प्रेषण गर्ने र घटना विशेषप्रति प्रतिक्रिया दिने मौका दिन्छ । टाढा– टाढाका मानिसहरू पनि तत्काल कुनै क्षेत्र विशेषका घटनासँग परिचित हुन्छन् । विनोदले निकै साथी कमाएका थिए । दुर्घटनाको भोलिपल्ट अर्थात् जुन दिन उनको अन्तिम बिदाइ गरियो त्यो दिन गणतन्त्र दिवस थियो । तर देशभरिका पत्रकारहरूको स्टेटसमा उनकैबारे लेखिएको थियो, फेसबुकका पानाभरि विनोदसँग वियोग हुनुपरेको पीडा छचल्किएको थियो । विनोदलाई सबैले आआफ्नै तरिकाले सम्झिराखेका थिए ।
त्यही माझ पत्रकार विम्मी शर्माको एउटा स्टेटस आयो, कमसेकम समवेदनाको कुरामा ‘लाइक’ त नगरिदिनुस् । विम्मीले बडो गम्भीर कुरा उठाइदिइन् । हुँदो के रहेछ भने प्राय: मानिसहरू स्टेटस नपढिकनै लाइकमा क्लिक गरिदिन्छन् । फोटो राखेको छ भने लाइक गर्नेको झन् ताँती लाग्छ । समवेदनाको कुरा लाइकको विषय होइन, त्यहाँ श्रद्धाञ्जली वा पीडा अभिव्यक्त गरिन्छ । विम्मीले एउटा दु:खद माहौलमा पनि भित्रैदेखि चिमोट्ने कुरा राखिन् । यसले केही कुराहरू देखाउँछ, पहिले यस्ता घटनाहरू हुँदा मानिसहरू सम्बन्धित मान्छेकै घरमा जान्थे, भेट्थे, सञ्चार माध्यमबाट थाहा पाउँथे र दु:ख मनाउँथे । पछिल्लो समयमा आफूले मान्ने, स्नेह गर्ने मान्छे बित्दा अखबारमा समवेदना छपाउने चलन बढ्यो । अहिले फेसबुकको जमाना आफ्ना अभिमत राख्न झन् सहज माध्यम भइदिएको छ । जो कोही पनि आफ्नो बुझाइ झट्ट राखिहाल्छ । तर त्यो फेसबुक स्टेटसमा नपढिकन वा नबुझिकन लाइक गर्नेको होड लाग्दा झन् पीडा दिन्छ । अभिव्यक्तिका माध्यमहरू बदलिंदै जाँदा त्योसँग जोडिएका सतर्कता र सावधानीहरू पनि सम्झिनुपर्ने हुन्छ ।
यस्तै केही पहिले वीरगंजका शिक्षा पत्रकार अनन्तकुमार लाल दासले आफ्नो फेसबुकका वीरगंजमा समवेदना हराउँदै गएको दु:खेसो पोखेका थिए । उनको भनाइ थियो, कोही व्यक्ति लामो समयसम्म कुनै संस्थासँग जोडिएको हुन्छ, तर ऊ बितेर जाँदा त्यो संस्था विशेषले एउटा समवेदना छपाइदिने जस्ता यान्त्रिक काम मात्र गर्छ । हुनुपर्ने के हो भने सम्बन्धित परिवारसँग मानवीय व्यवहार प्रकट गर्नु । शोकाकुल परिवारकहाँ पुग्दा त्यसले परिवारमा एक प्रकारको सन्तुष्टि दिन्छ धैर्य धारण गर्न बल प्राप्त हुन्छ । हाम्रा परिवारका बितेका सदस्यलाई सम्झिने र सद्भाव दिनेहरू छन् भनेर पारिवारिक बुझाइ बढ्छ । तर प्राय: के देखिएको छ भने संस्थाहरूले केवल औपचारिकतामैं आफूलाई सीमित राख्न थालेका छन् । दासको प्रश्नले पनि एकपटक सोच्न बाध्य गराउँछ । समयको बदलिंदो क्रमसँगै हाम्रा मानवीय समवेदनाहरू प्रकट गर्ने रूपहरू कसरी बदलिंदै गएका छन् ? परिवारका जेष्ठ सदस्य बित्दा बरु उनको जीवनमा राम्ररी हेरचाह गरिएको हुँदैन, तर समाजमा आफ्नो नक्कली हैसियत प्रदर्शन गर्न परिवारका सदस्यहरूले नै अखबारमा समवेदना छाप्न लगाउँछन् । समवेदनाका यस्ता रूपहरूले पनि समाजमा अनेकौ प्रश्नहरू उठाइरहेको छ । यो संवेदनशील विषय हो ।
विनोदको घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ, त्यो भनेको वीरगंज– पथलैया सडकखण्डमा गाडीहरू तीव्र गतिले हुइँकिन्छन् । यसरी गाडीको गतिले गर्दा पटकपटक दुर्घटना हुने गरेको छ । खासगरी टिपर र टाटा सुमोको चलाइ तीव्र गतिमा हुने गरेको पाइएको छ । पैदल यात्रु वा मोटरसाइकल चलाउनेहरू सडकमा तर्सिएको अवस्थामा पुग्छन् । लाग्छ टिपर र टाटा सुमोलाई कुनै ट्राफिक कानुन लाग्दैन । यो सन्दर्भ पनि समवेदना हराउँदै गएको एउटा दु:खान्त पक्ष हो । पटकपटक यसबारे कुराहरू उठे पनि अहिलेसम्म पनि यसमा सुधार हुन सकेको छैन । यसमा सुधार ल्याउने निकाय कुन हो ? त्यसको तदारुकतामा कमी देखिएको छ । आफ्नै सहकर्मी गुमाए पछि अब यस क्षेत्रका मिडियाले यस्ता कुराहरू जोड्ले उठाउने छन् । साना मसिना लाग्ने यस्ता कुराहरूले कतिपय विनोदहरूले अकालमा ज्यान गुमाउनुपरेको छ । मिडियाले निरन्तर यस विषयमा कुरा उठान गरेपछि गाडीहरूको गति सन्तुलित हुन सक्छ होला ।
समवेदना प्रकट गर्ने तरिकासँगै हाम्रा सामाजिक मूल्यहरू झल्किन्छ । शहरमा भौतिक विकास त प्रशस्त भएको देखिन्छ तर मानवीय समवेदनाहरूमा र्हास आउँदै गएको छ । सबै कुराहरू कतै दिखावटी त होइन, भनेर शोकाकुल परिवारलाई स्पन्दन गरिराखेको हुन्छ । निश्चितरूपमा आज पनि समाजमा संवेदनशीलता छ, त्यसैले पो त समाज बाँचिराखेको छ । समाज हुनुको अर्थ नै हो, एक अर्काप्रति सम्वेगहरू सम्प्रेषण गर्नु । समवेदनाले सम्बन्धित परिवारलाई कति राहत दिन्छ, त्यसको अनुभूति सहजै गर्न सकिंदैन । त्यसेैले पो हाम्रो समाजमा भनिएको छ, ‘छेउको जन्ती नगए पनि पल्लोको मलामी जानुपर्छ’ ।
भाई विनोद सकारै बित्यौ, तिमी जहिलेसम्म रह्यौ आफ्नो काममा लागिरह्यौ । तिमीसँग बिताएका दिनहरू मलगायत सबै पत्रकारहरूको मनभरि बसिरहने छ । तिमीप्रति यही शब्द–श्रद्धाञ्जलि ।