- सञ्जय साह ‘मित्र’
देशको प्रथम प्रजातान्त्रिक आन्दोलनका शहीदको उचित सम्मान हुन नसकेकोमा रौतहटका बौद्धिकवर्ग खिन्न देखिएका छन् । शहीदको बलिदानीले देशमा प्रजातन्त्र आएपनि तिनै शहीदको सम्झनामा एउटा स्मारकसम्मको निर्माण हुन नसक्दा बौद्धिकवर्ग राजनीतिक दलप्रति असन्तुष्ट देखिएका छन् ।
२००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा रौतहट सदरमुकाम गौरमा एकै दिन करिब तीन दर्जनले ज्यान गुमाएका थिए । तत्कालीन मालअड्डामाथि झन्डा गाड्ने क्रममा शिवप्रसाद कुँवरको छातीमा गोली लागी ढलेपछि उनको लासलाई लिन आन्दोलनकारीहरू अगाडि बढ्दा सेनाले अन्धाधुन्ध गोली बर्साएपछि मालअड्डा परिसर र सडकका साथै बरहवा पुलसम्म कम्तीमा चौतीसजनाले मृत्युवरण गरेका इतिहास छ ।
त्यो वर्ष गौर आसपासको खेतमा लास गन्हाएको हुनाले धानको कटाइसमेत हुन नसकेकोले सयौंजनाले मृत्युवरण गरेको अनुमान सहादत दिवस समारोह समिति रौतहटका संयोजक राजदेवप्रसाद चौधरीले बताएका छन् ।
मङ्सिर ३ गते भएको गौरकाण्डका शहीदहरूको स्मृतिमा कुनै स्मारकको निर्माण हुन नसक्दा राजनीतिक दलका नेताहरूले शहीदको सम्मान गर्न नसकेको पत्रकार मदन ठाकुरको भनाइ छ । चन्द्रनिगाहपुरको चाँदी खोलाको छेउमा शहीद स्मारक निर्माणको काम लाखौंको लगानीमा भइरहेको छ । यसैगरी मौलापुर बजारमा लाखौंको लगानीमा माओवादी द्वन्द्वमा मृत्युवरण गरेकाको सम्झनामा स्मारक बनाइएको छ । तर सदरमुकाम गौरमा त्यस्तो ठूलो आन्दोलन भएको र धेरैजनाले सहादत प्राप्त गरेको भएपनि कुनै स्मारक बन्न नसकेकोमा आफूलाई राम्रो नलागेको शिक्षक अनिलकुमार निधि बताउँछन् । विभिन्न ठाउँमा शहीदको नाउँमा चोक र सडकको नाम राख्ने चलन भएपनि सदरमुकाम गौरमा यसो हुन नसकेको शिक्षक निधि बताउँछन् ।
२००७ सालमा राणाविरोधी आन्दोलनको जुलुस भारत विहारको छिमेकी बैरगनियाबाट भन्सार हुँदै गौर आएको थियो । जुलुस गौर प्रवेश गरेको मार्गमा क्रान्तिद्वारको निर्माण गरिएको छ तर त्यहीँ जुलुसको नेतृत्व गर्ने शिवप्रसाद कुँवरको अनुहार वा पूर्ण कदको गरी कुनै किसिमको पनि सालिकको स्थापना कतै गरिएको छैन । वर्तमान रौतहट जिल्ला अदालतको परिसरभित्र एउटा शहीद स्तम्भ रहेको छ, जहाँ हरेक वर्ष मङ्सिर ३ गते सहादत दिवस समारोह समिति रौतहटको आयोजनामा कार्यक्रम गरी माल्यार्पण त गरिन्छ, तर त्यो पनि जीर्ण भएकोप्रति कसैको ध्यान जान सकेको छैन ।
प्रजातन्त्रप्राप्तिको लागि शिवप्रसाद कुँवर, रति गिरी, नन्दु साहलगायतले सहादत प्राप्त गरेको स्थान गौरमा शहीदहरूको सालिकको साथै स्मारक निर्माण गर्नुपर्ने सहादत समारोह समिति रौतहटका संयोजक चौधरीको भनाइ छ ।
नेपाल–अङ्ग्रेज युद्ध भएको ऐतिहासिक समनपुरमा पनि कुनै स्मारकको निर्माण गर्न सकिएको छैन । स्मरणीय छ, समनपुरमा नेपाली पक्षले अङ्ग्रेजलाई नराम्ररी पराजित गरेको थियो । युद्धको कुनै अवशेष अहिले संरक्षण गर्न नसकिए पनि त्यस ठाउँलाई सबैले लडैया समनपुर भन्ने गरेका छन् । त्यहाँ पनि एउट अज्ञात स्तम्भबाहेक शहीदको सम्झनामा केही नरहेकोमा स्थानीय नरेश साह खिन्नता व्यक्त गर्दछन् ।