धोबिनी–मिर्जापुर सडकखण्डमा विगत दश वर्षअघि निर्माण कार्य शुरु भएर अधूरो रहेको पुल निर्माणमा ठेकेदारले निर्माण गरेको कामभन्दा तीन गुणा बढी भुक्तानी लिएको तथ्य प्रकाशमा आएको छ । ओरिया पुल निर्माण सङ्घर्ष समितिले पुल निर्माणबारे खोजबिन गर्दै जाँदा सो कुरा प्रकाशमा आएको हो । समितिले जनाए अनुसार नेपाल सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालय तथा श्री हीराचन्द/दि कञ्नचङ्घा/बज्रगुरु कन्स्ट्रक्शन, जे.भी.काठमाडौंसँग आव २०५८/०५९ मा रु. २ करोड ५३ लाख ५२ हजार ९८६ ९० पैसामा सम्झौता भएको पुल निर्माण कार्य १२ प्रतिशत मात्र सम्पन्न गरी ठेकेदारले ३८ प्रतिशत काम गरेको देखाएर रकम निकासा गराएको थियो । पुलको निर्माण कार्य १२ प्रतिशत रहेको रेकर्डमा देखाइएको छ तर कार्यालयले रु. ९५ लाख ७५ हजार ३९१ भुक्तानी गरेको छ । डिभिजन सडक कार्यालय हेटौडाले गरेको सो भुक्तानी ३८ प्रतिशत हुन आउँछ ।
सडक कार्यालय तत्कालीन कर्मचारीबाट त्रुटि भएको भन्दै पन्छिने गरेको छ । ओरिया पुलको निर्माण कार्य रोकिएको आज दश वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य शुरु नभएपछि स्थानीय बासिन्दाले सङ्घर्ष समिति बनाएर पर्साका प्रजिअलाई ज्ञापन बुझाउँदै सोबारे आफैंले तथ्य बुझ्ने कार्य गर्दा यो कुरा प्रकाशमा आएको हो ।
सङ्घर्ष समितिका संयोजक साहबुद्दिन महम्मदले निर्माण कार्यको प्रगति विवरणमा १२ प्रतिशत काम सम्पन्न भएको र भुक्तानी भने ३८ प्रतिशत भएको बताएका छन् । ओरिया पुल निर्माण क्रममा पुलको पाया बा·िएपछि निर्माण कार्य रोकेको ठेकेदार फेरि फर्केर गएको छैन ।
डिभिजन सडक कार्यालयका प्रमुख रामचन्द्रप्रसाद बरईले ठेकेदार हालसम्म सम्पर्कमा नआएको बताए । उनले लामो समयसम्म ठेकेदार सम्पर्कमा नआएको कारण निजविरुद्ध कार्यवाही प्रक्रिया अगाडि बढाइएको बताए । उनले ठेकेदारविरुद्ध आवश्यक कागजात तयार गरेर कार्यवाहीका लागि माथिल्लो तहमा पठाएको जानकारी गराएको सङ्घर्ष समितिका अध्यक्ष साहबुद्दिनले प्रतीकलाई बताए ।
सङ्घर्ष समितिका अखिलेश यादव, सोनालाल पटेल, संदिप पटेल, हरिन्द्र यादव, बैजु यादवलगायतको टोलीले आज सो कार्यालयमा गएर ओरिया नदीको पुल निर्माणबारे बुझेके थियो ।