- सुषमा तिवारी (द्विवेदी)
भारतीय च्यानलबाट महिला सम्मानको कार्यक्रम हेर्दाहेर्दै मैले नेपालमा रहेका मधेसी महिलाहरूको सकारात्मक परिवर्तनको पनि सम्मान गरी महिलाहरूलाई अझ विकास क्रियाकलापमा पुरुषको साथ काँधका काँध मिलाएर अगाडि बढ्न हौंसला प्रदान गर्न सकिन्छ भन्ने अनुभव गरें । मधेसी महिलाहरू सहरी क्षेत्रहरूमा उद्यमशीलता, व्यावसायिकता आदिका कारण मूलधारमा आउँदैछन् भने ग्रामीण परिवेशमा उनीहरू स्वास्थ्य स्वयंसेविका, आमा समूह, लघु वित्त र सहकारी माध्यमबाट मूलधारमा आउँदै छन् । पर्सा जिल्लाको गाउँ–गाउँमा गएर हेर्ने हो भने मधेसी महिलाहरूको विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समूह, सामुदायिक वन आदिमा प्रतिनिधित्व उत्साहजनक देखिन्छ । यी महिलाहरू राजनीति तथा रोजगारीमा समेत पुरुषसँग प्रतिस्पर्धा गर्दै अगाडि बढेको हाम्रो अगाडि नै देखिन्छ । कुनै महिलाले कुनै कार्यक्रममा बोल्न पाउँदा, यसले पनि बोल्छे भनेर भलाकुसारी गर्छन् । पुरुषहरू महिलाले भाषण गर्न थालेपछि–‘ओहो वहाँ त बोल्न सक्नुहुँदो रहेछ’ भनेर आश्चर्य प्रकट गर्छन् । हामी नारीहरू पनि मौका दियो भने शिक्षित हुन सक्छौंं, कुनै पनि विषयमा बोल्न सक्छौं । हामी महिलाहरूमा पनि पुरुष सरह काम गर्ने शक्ति छ, क्षमता छ तर हामी त्यो क्षमता देखाउन सकिरहेको हुँदिनौं । हाम्रो समाजले नारीलाई एकातिर पूजा गर्छ भने त्यही समाजले नारीलाई साधारण मौलिक अधिकारबाट समेत वञ्चित राखेर असाध्यै कमजोर, अबला, सहनशीलताकी देवीको रूपमा स्थापित गरिदिन्छ । नेपालको मधेसी समुदायमा खासगरी महिलाको अवस्था एकदमै कहालीलाग्दो छ । महिलाहरूलाई प्राय: घरको काम र घरको चौघेराभित्र राखेर भोगको साधन मात्र मान्ने गरेको देख्दा त आजको एक्काइसौं शताब्दीमा आफ्नो संसार यसैलाई सम्झिएर चुपचाप बस्नुले पनि मधेसी महिलाहरूको अवस्था शोषित, उपेक्षित, पीडित र असुरक्षित बनेको छ । तर यही समाजमा धेरै महिलाहरू यस्ता पनि छन् जसले हामी सबैलाई गर्वान्वित बनाएको छ । अहिले हाम्रो नेपालमा १९७ जना महिला सभासद्हरू छन् जसमा मधेसी महिलाहरूको उपस्थिति पनि एकदमै राम्रो छ । यही समुदायमा चित्रलेखा यादव जस्ता मधेसी महिला छन् जसले बितेको समयमा उपसभामुखको पदसमेत जिम्मेवारीपूर्वक निर्वाह गरेकी थिइन् ।
त्यसैगरी थुप्रै मधेसी महिलाहरू समाजसेवी, डाक्टर, नर्स, इन्जिनियर, प्रोफेसर, शिक्षक बनेर आआफ्नो पेशामा उल्लेखनीय कार्य गरेका छन् । पुरुष सरह नै, अझ केही पेशामा त पुरुषभन्दा धेरै राम्रो तरिकाले काम गरेको समाचारहरू पनि हामी सुन्ने गर्छौं । अब त मधेसी महिलाहरू टेलिभिजनमा तथा अन्य मिडियामा पनि प्रशंसनीय काम गरिरहेका छन् । यहाँसम्म कि गाउँघरमा खेतमा काम गर्ने पुरुषभन्दा महिलाले राम्रो र धेरै समय दिन्छन् । त्यसैगरी कुनै पनि काममा महिलालाई खटाउँदा महिलाले राम्रो काम गर्ने र काममा जुटेपछि सफल हुने गरेको पनि देखिन्छ । पहाडी जिल्लाहरूमा गाउँ बनाउने अभियान होस् वा पतिलाई जाँड–रक्सी, जुवा–तासको बानी छुटाउने होस् महिला जागेपछि जे पनि सम्भव भएको छ । अब शिक्षाको विस्तार र राजनीतिक जागरुकताका साथै मधेसमा पनि महिलाहरू आफ्नो अधिकारबारे जान्न थालेका छन् र अधिकार पाउन र दिलाउन लागिपरेका छन् । समाजमा सक्रिय यस्ता महिलाहरूलाई देश तथा समाजले महिला दिवसको अवसरमा सम्मान गर्नुपर्ने मैले ठानेकी छु । ८ मार्चका दिन नारी दिवस विभिन्न नाराका साथ मनाइन्छ तर ती महिलाहरू जसले गर्दा अरू महिलाहरू पनि प्रेरित भए, तिनीहरूलाई समय–समयमा महिला सम्मान कार्यक्रम यदि स्थानीय स्तरदेखि नै गर्न सकियो भने महिला विकासको महत्त्व र गरिमा बुझ्न सजिलो हुनेछ र सबै अभिभावकहरू आआफ्ना छोरीहरूलाई बुहारीहरूलाई र स्वयं आमासमेतले काममा जुटेपछि निश्चय नै एक दिन हाम्रो समाजले नेपाली महिलाहरूको कामको कदर गर्नेछ भन्ने आशा तथा विश्वासका साथ अगाडि बढ्न सक्नेछन् ।