शहीद स्मारक उद्घाटन गर्दै प्रचण्ड(१), सभालाई सम्बोधन गर्दै प्रचण्ड(२), मञ्चमा आसिन(दायाँबाट) प्रचण्ड, गिरिराजमणि पोखरेल, अञ्जना बिशंखे (३)। फोटो: आरके पटेल |
एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपाली काङ्ग्रेस र नेकपा एमालेले शान्ति र संविधानलाई बन्धक बनाई हलो अड्काएर गोरु चुट्ने काम गरिरहेको आरोप लगाएका छन् ।
एकीकृत नेकपा माओवादी जिल्ला स·ठन समिति पर्साले पर्सा जिल्लाको सुवर्णपुर–४ मा निमाण गरेको शहीद स्मारकको उद्घाटन गर्दै सो आरोप लगाएका हुन् ।
काङ्ग्रेस र एमाले शान्ति प्रकियामा जान अनेक बहाना लगाएर रोक्ने अनि गाली चाहिं माओवादी पार्टीलाई गर्ने गरेको आरोप लगाउँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र सङ्घीय संविधान निर्माणका लागि जनयुद्धमा सहयोग गरेका नेपाली सर्वहारा जनताले फेरि तलैबाट आवाज उठाउनुपर्ने समय आएको प्रचण्डको भनाइ थियो ।
ज्ञानेन्द्रको उल्टो बुद्धिका कारण नेपालमा छिटो गणतन्त्र आएको उल्लेख गर्दै नेपाली काङ्ग्रेस र एमालेले पनि उल्टो काम गरिरहे आफ्नै कुबुद्धिका कारण जनताबाट छिट्टै बढारिन्छन्, प्रचण्डको कथन थियो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अगाडि थपे–हिजोका ठूला–बडा भनाउँदा र ठूला–ठूला पार्टी, जसले माओवादीको टाउकोको मोल तोक्ने काम गरेको थियो, आज उनीहरू सानो पार्टी हुन पुगेका छन् । यसैबाट अत्तालिएर माओवादीलाई गाली गर्ने गरेका छन् ।
सो अवरसरमा अध्यक्ष प्रचण्डले क्रान्तिमा शहादत प्राप्त व्यक्तिका
परिवारको व्यस्थापन सरकारले
गरिरहेको बताउँदै सुवर्णपुर गाविस क्षेत्रका बासिन्दाको लाल पुर्जा समस्या, सडक समस्या, नागरिकता समस्या छिट्टै समाधान गरिने र उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्र विकास गर्न आफू लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
समारोहका अर्को वक्ता माओवादीका पोलिटब्युरो सदस्य गिरिराजमणि पोखरेलले शहीद परिवारमाथि कहींकहीं दमन भइरहेको खबरप्रति पार्टीको ध्यानाकर्षण भएको र पार्टीले छानबिन समेत सुरु गरिसकेको जानकारी गराएका थिए ।
नेकपा माओवादी जिल्ला स·ठन समिति पर्साका इन्चार्ज अनिल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा भोजपुरा राज्य समितिका सहइन्चार्ज एवं सभासद् प्रभु साह, सभासद् जयराम दाहाल, भोजपुरा राज्य सेक्रेटरी अञ्जना विशंखेलगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला सेक्रेटरी विवेकले सहजीकरण गरेको उक्त कार्यक्रममा बाराका सभासद् शिवचन्द कुशवाहा, सभासद् चन्दादेवी रामलगायत नेताहरूको सहभागिता थियो ।
सो अवसरमा शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सिमाना सांस्कृतिक समितिका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।
१७ लाख रुपियाँको लगानीमा निर्मित शहीद स्मारकमा जनयुद्ध, जनान्दोलन र मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका ३५ जना पर्सेली शहीदहरूको प्रतिमा राखिएको छ ।
ए. माओवादीले फागुन १४ गतेदेखि २१ गतेसम्म मनाइरहेको शहीद सप्ताहको क्रममा आज सो स्मारकको उद्घाटन गरिएको हो ।