जिल्ला शिक्षा कार्यालय बारामा धर्ना दिंदै शिक्षकहरू । फोटो: राजेश कुशवाहा |
संयुक्त शिक्षक आन्दोलनको तेस्रो चरणको तेस्रो दिन आज पनि पर्सेली शिक्षकहरूले जिल्ला शिक्षा कार्यालय घेराउ तथा पठनपाठन ठप्प कार्यक्रम जारी राखे । जिल्ला शिक्षा कार्यालय, परिसरमा भेला भएका शिक्षकहरूले धर्ना तथा घेराउ गर्दै सो कार्यालयका कामसमेत ठप्प पारेका थिए ।
धर्ना सभालाई सम्बोधन गर्दै शिक्षक नेताहरूले यो आन्दोलन अन्तिम र निर्णायक हुने बताएका छन् । चार दशकदेखि पठनपाठनमा खटिरहेका शिक्षकहरूलाई घर न घाटको बनाउने सरकारी नीति तथा दुई–तीन पुस्ता विद्यालयकै परिचारक र चौकीदार बनी बिताइरहेका पालेदाइको मर्म र भावना यस आन्दोलनमा जोडिएको चर्चा गर्दै चालू आन्दोलन ‘गर या मर’को अवस्थामा रहेको शिक्षक नेताहरूले बताएका छन् ।
सम्पूर्ण अस्थायी शिक्षकहरूलाई स्थायी, विद्यालयका सम्पूर्ण पाले, परिचारकहरूलाई दरबन्दी, राहत र पीसिएफलाई साधारणतर्फ दरबन्दी र बालशिक्षालाई प्रावि सरह पारिश्रमिक दिने निर्णय सरकारले नगरेसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने बताउँदै सरकारी रवैयामा सुधार नभए आसन्न एसएलसी परीक्षा पनि बिथोल्ने चेतावनी दिएका छन् ।
आजको कार्यक्रममा शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडित, राहत शिक्षक सङ्घर्ष समिति पर्साका संयोजक श्याम घिमिरे, शैक्षिक गणतान्त्रिक मञ्चका बिन्दा दास, शिक्षक सङ्घका तीर्थराज यादव, शिक्षक स·ठनका अशोक चौधरी, शिक्षक मञ्चका दिनेश चौरसिया, पीसिएफका सोनाल पटेललगायतले मन्तव्य प्रकट गरेको शिक्षक सुकनारायण श्रेष्ठले जानकारी गराएका छन् ।
प्रस, कलैया/
शिक्षकहरूको हितको लागि विभिन्न ४७ सूत्रीय माग राखी शिक्षकहरूले आज पनि जिल्ला शिक्षा कार्यालय, बारामा धर्ना दिएका छन् ।
नेपाल शिक्षक युनियन तथा नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको संयुक्त आह्वानमा शिक्षकहरूले कार्यालय अवधि भर जिल्ला शिक्षा कार्यालय बारामा धर्ना दिएका हुन् ।
बाराका सम्पूर्ण सरकारी विद्यालय बन्द गरी नेपाल शिक्षक युनियन बाराका अध्यक्ष देवेन्द्र गिरीको अगुवाइमा शिक्षकहरूले शिक्षा कार्यालयमा धर्ना दिएका हुन् ।
प्रस, रौतहट/
नेपाल गणतान्त्रिक शिक्षक मञ्च र नेपाल शिक्षक युनियनले आज जिल्लामा कामरोक धर्नामा बस्दै सदरमुकाम गौरमा जुलुस प्रदर्शन गरेका छन् ।
प्रर्दशन गर्ने क्रममा शिक्षामन्त्री राजीनामा गर, विद्यालय व्यवस्थापन समिति खारेज गर, अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर, विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर, संस्थागत विद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलब सुविधा, भत्ता, नियुक्तिपत्र देऊ जस्ता अनेकौं नारा लगाएका थिए । ४७ बुँदे माग लिएर नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले संयुक्तरूपमा तेस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।