$type=ticker$count=12$cols=4$cate=0

मिथिलामा परम्परागत मनोरञ्जन– एक परिचय

SHARE:

बासुदेवलाल दास
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज

    मानिसको जीवनमा दु:ख र सुख दुवैको समानरूपले प्रभाव रहे तापनि समाजमा मानिसहरू जीवनलाई सुखी र आनन्दमय बनाउने चाहना राख्ने गरेका हुन्छन् । यसका लागि मनोरञ्जनका साधनहरूको ठूलो योगदान रहने गर्दछ । मैथिल समाजमा मनोरञ्जनका साधनहरूमध्ये गीत प्रमुखरूपमा रहेको पाइन्छ । मैथिली बोलीमा यसलाई गीतनाद पनि भनिन्छ । यस क्षेत्रमा प्राचीनकालदेखि नै गायनको परम्परा विद्यमान रहेको छ । यस क्षेत्रका गीतहरूमा बालगीत, लोकगीत, सांस्कारिक गीत, शास्त्रीय गीत आदि आउँदछन् । बालगीत अन्तर्गत शिशुलाई तेल लगाउने, खुवाउने, खेलाउने, डुलाउने र सुताउने बेलाहरूमा गाइने गीतहरू पर्दछन् । यस्ता गीतहरू महिलावर्गले शिशुलाई काखमा राखेर विशेष प्रकारका सुर (स्वर) द्वारा गाउने गर्दछन् । बालगीतहरू सूर्य, चन्द्र, नदी, बाटो, पर्वत, पशु, पक्षी, ब्राह्मण, देवता, भाइ, बहिनी, मामा, माइजू, गोठाला इत्यादिलाई प्रतीक बनाएर गाइने गरिएको पाइन्छ । यस्तै लोकगीत अन्तर्गत कजरी, पूरबी, झूमर, बटगवनी, बारहमासा आदि गीतहरू गाइन्छन् । यस्ता गीतहरू महिला र पुरुष दुवै वर्गले गाउने गर्दछन् । यसरी नै ऋतुविशेषमा एवम् अवसरविशेषमा गाइने गीतहरू पनि रहेका छन्, जस अन्तर्गत जट–जटिन, झिझिया, सामाचकेबा, जाडोको गीत, गोदनागीत, होली, चैतावर इत्यादिका साथै भगतई नामक गीतहरू आउँदछन् । यी गीतहरूका विषयहरूमा विभिन्न आख्यानपरक कथानकहरू रहेका पाइन्छन् । जट–जटिन, झिझिया, सामाचकबा, गोदनागीत आदि महिलावर्ग द्वारा गाइन्छ । यस्तै भगतई पुरुषवर्गले गाउने गर्दछ । होली र चैतावरजस्ता गीतहरू पुरुष र महिला दुवै वर्गद्वारा गाइन्छ ।
    मिथिलामा शुभ–संस्कारहरू गर्दा गीत गाइने परम्परा रहेको छ । यस्ता गीतहरू महिलावर्ग द्वारा गाइने गरिन्छ । यस अन्तर्गत गोसाउनिकगीत, सोहर, लगन, बधाई, पसाहनि, परिछन एवम् विवाहको अवसरमा गाइने विभिन्न प्रकारका गीतहरू इत्यादि पर्दछन् । शुभविवाहका अवसरहरू समाज अत्यन्त मनोरञ्जनात्मक हुने गर्दछ । जन्तीका साथ नाच गर्ने, समूहका व्यक्तिहरू साजबाजका साथ आउने एवम् विभिन्न प्रकारका नाच देखाउने गरेका हुन्छन् ।  यसरी नै बिहान उठ्ने बेलामा प्रभाती, भोजनको बेलामा जेवनार र साँझपख साँझ नामक गीत गाइन्छ । यस्तै मनोरञ्जनात्मकरूपमा केही अश्लीलता झल्किने भावहरू व्यक्त हुने गरिएका डहकन नामक विशेष गीत पनि मिथिलामा गाइने परम्परा रहेको छ । यसरी नै व्रतपर्वका अवसरहरूमा गीतहरू गाइन्छन् । यस अन्तर्गत भजन, आरती, कीर्तन, नचारी, महेशवाणीका साथै सम्बन्धित आराध्य देवी–देवताका गीतहरू पर्दछन् । यस्तै धानको बीउ उखेल्ने बेलामा पुरुषवर्गद्वारा बिरहिन्नी नामक विशेष गीत गाइन्छ भने रोपाईं गर्ने बेलामा एवम् रोपाईं गरेर घर फर्किने बेलामा महिलावर्गद्वारा गीत गाइन्छ । गाउँघरमा महिलावर्गले जाँतोमा अन्न पिध्ने बेलामा पनि गीत गाउँछन् ।
    मिथिला क्षेत्रमा योग–वैराग्य एवम् लोकगाथा विषयक गीतहरू गाइने परम्परा रहेको पाइन्छ । यस अन्तर्गत गुदरियागोसाईं तथा मौलाप्यारेका निर्गुण गीतहरू र नैकाबनिजारा, राजासलहेस, लोरिकाइन, रानीसार·ा, राजाभर्तृहरि, राजाहरिश्चन्द्र, अल्हारूदल, सोरठी–बृजाभार इत्यादि जस्ता गाथागानहरू पर्दछन् । यसरी नै परिवारमा शिशुको, खासगरी पुत्रको, जन्म हुँदा बधाई माग्दै आउने खोजा–खोजिन र पमरिया जस्ता समूहहरूले सोहर नामक विशेष गीतका साथै विविध प्रकारका मनोरञ्जनात्मक गीतहरू गाउने गर्दछन् । यस्तै शास्त्रीय गायनमा सुर (स्वर) र तालको मेल गरी अनेक रागहरू गाइने गरिन्छन् ।
    महिलावर्गद्वारा गीतहरू गाइँदा वाद्ययन्त्रको प्रयोग गरिएको हुँदैन । यिनीहरू प्राय: सामूहिक रूपमा एकस्वर पारेर गीत गाउने गर्दछन् । अन्य गीतगानहरूमा स·ीतको संयोग उपस्थित गर्न अनेक प्रकारका वाद्ययन्त्रहरूको उपयोग गरिएको पाइन्छ । यस्ता वाद्ययन्त्रहरूमा झालि, मृद·, मजीरा, हारमोनियम, ढोल, पिपही, तासा, तबला, रसञ्चौकी, शहनाई, बाँसुरी, खजुरी, करताल, डम्फ, धुतहू, सि·ा, एकतारा, घुना, सार·ी इत्यादि आउने गर्दछन् । साना केटाकेटीहरूका लागि भने झुनझुना र पिपही बाजा नै मनोरञ्जन प्रदान गर्ने हुन्छन् । यस्ता वाद्ययन्त्रहरूका अनेक प्रकार हुने तथा एक्लै वा सामूहिकरूपमा गरी बजाइने गरिएका हुन्छन् ।
    मनोरञ्जनको अर्को साधनमा मेलालाई लिन सकिन्छ । यस्ता मेलाहरू पवित्र तिथिहरूमा तथा पवित्र स्थानहरूमा लाग्ने गर्दछन् । श्रीकृष्णाष्टमी, इन्द्रपूजा, विश्वकर्मापूजा, दुर्गापूजा, कालिकापूजा इत्यादि अवसरहरूमा सम्बन्धित देवीदेवताहरूका मूत्र्तिहरू बनाएर मेला लगाइने गरिन्छ । यसरी नै कुनै विशेष अवसर पारेर भगवान विष्णुका दशावतार, चौबीसावतार आदिका साथै श्रीमद्भागवत र महाभारतका कथानकहरूमाथि आधारित विभिन्न प्रकारका मूत्र्तिहरू बनाएर एवम् भगवान महावीरजीको प्रतीक मानेर कलात्मकरूपमा बाँसद्वारा महावीरीझन्डा बनाएर मेला लगाइने गरिन्छ । त्यस्तै मुसलमानवर्गको मोहर्रम पर्वको अवसरमा बाँसद्वारा कलात्मकरूपमा बनाइने दाहा (तजिया) र त्यस बेलामा लाग्ने मेला पनि मनोरञ्जन प्रदान गर्ने हुन्छन् । यस्ता मेलाहरूमा नाच, नाटक, नौटड्ढी, कुश्ती (पहलवानी), जादूखेल, सर्कस, झूला, रामहिडोला इत्यादि जस्ता मनोरञ्जनका अनेक माध्यम र साधनहरू उपलब्ध रहने गरेका हुन्छन् । नाच अन्तर्गत नटुआनाच, छोकरबाजीनाच र रण्डीनाचहरूका साथै गाथात्मक र आख्यानपरक कथानकहरूमाथि आधारित नाचहरू समेत हुने गर्दछन् । नाच र नाटकहरूमा पुरुषवर्गको सहभागिता रहने एवम् महिलापात्रको भूमिकामा समेत पुरुषवर्ग नै रहने गर्छन् । यस्ता नाचहरूमा हरबोलबा नामक पात्र सबभन्दा बढी मनोरञ्जनको स्रोतको रूपमा रहने गर्दछ । हरबोलबाले विभिन्न हास्यात्मक स्वरूप बनाएर हासपरिहारपूर्ण ढ·ले निर्वाह गर्ने भूमिकालाई हरबोलई भनिन्छ । महावीरीझन्डाको अवसरमा पुरुषवर्गद्वारा हातमा साना डण्डाहरू लिएर सामूहिकरूपमा प्रस्तुत गरिने झाराझरी नामक गीतसहितको विशेष नाच आनन्ददायक हुने गर्दछ । यस्तै दाहाको अवसरमा लाठी र भालाका मनोरञ्जक र रोमाञ्चकारी खेलहरू प्रदर्शित गरिन्छ । यसरी नै जादूखेलहरूमा विविध प्रकारका नजरबन्दका खेलहरू आश्चर्यजनक र विस्मयकारी दृश्यहरूका साथ प्रदर्शित गरिने एवम् सञ्चिरैयाको नाचमा डोरीमाथि हिंडेर नाच गरेर देखाएर मनोरञ्जन प्रदान गरिने गरिएका पाइन्छन् । वर्षको प्रमुख बाली धान भित्र्याइसकिएको बेला, प्राय: माघ वा फागुन महिनातिर, घोडाको आकार बनाएर विशेषप्रकारले नाच गरेर मनोरञ्जन प्रदान गर्दै धान र रुपियाँ उठाउने गरिएको हुन्छ, जसलाई दुलदुल घोडानाच भनिन्छ । यसरी नै मदारीहरू बाँदरलाई एक्लैरूपमा तथा फुलेसरा–फुलेसरी भनेर जोडारूपमा समेत नचाएर एवम् भालुलाई नचाएर अनेक प्रकारका खेलहरू देखाउँदै समाजमा मनोरञ्जन प्रदान गर्ने गरेका हुन्छन् । केही साधु–सन्त प्रकारका व्यक्तिहरू बसहा तथा उँट घुमाएर समाजमा हिंंडेका हुन्छन्, जसबाट समेत मानिसहरूमा मनोरञ्जन प्राप्त हुने गर्दछ । यस्तै भीख मागेर हिंड्ने केही महिला तथा पुरुष दुवै वर्गका व्यक्तिहरू विभिन्न प्रकारका चटक देखाउने गरेका पाइन्छन् । यस्ता चटक देखाउनेहरू आफूसित भएको नारी मूर्तिलाई बेहुली तथा साना बालकलाई बेहुला बनाएर अनेक प्रकारका मनोरञ्जनात्मक कुराहरू भनेर सबैलाई हँसाउने गरेका हुन्छन् । यसरी नै सपेरा जातिका व्यक्तिहरू सर्पका खेलहरू देखाएर एवम् नट जातिका व्यक्तिहरू अन्य अनेक प्रकारका खेलहरू देखाएर समाजमा मनोरञ्जन प्रदान गर्ने गरेका पाइन्छन् । 
    मिथिलामा मनोरञ्जनका साधनहरूमध्ये रामलीला र रासलीलाहरू पनि हुन् । रामलीला भगवान् रामको चरित्रमाथि आधारित रामायणको कथानक समेटेर देखाइने नाटक–शृङ्खला हुने गर्दछ । यो रातिको समयमा देखाइने तथा १५–२० दिनसम्म चल्ने गर्दछ । त्यस्तै रासलीलामा भगवान कृष्णको चरित्रमाथि आधारित श्रीमद्भागवतको कथानक समेटिएको नाटक–शृङ्खला देखाइने गरिन्छ । श्रावण महिनाको शुक्लपक्षमा भगवान्लाई झूलामा झुलाइने गरिन्छ, जसलाई झूलन भनिन्छ । झूलन रातिको समयमा गरिन्छ तथा यस अनुष्ठानको समाप्ति श्रावणीपूर्णिमाका दिन हुने गर्दछ । यस अवसरमा मठ–मन्दिरहरूमा विशेष आयोजनका साथ नाचगान गरी भक्तिपूर्वक मनोरञ्जन गर्ने गरिन्छ । यसरी नै बेलाबेलामा व्यक्तिगत वा सामूहिकरूपमा पनि अष्टयाम नामक अनुष्ठान गरिएको हुन्छ, जसमा चौबीस घण्टासम्म निरन्तररूपमा भगवानको नामोच्चारण गरी कीर्तन र हवन गर्नुका साथै रामायण (प्राय: तुलसीदासकृत रामचरितमानस) को पूर्ण पाठ गरिने गरिन्छ । त्यस्तै जूडशीतल (वैशाख २ गतेका दिन पर्ने हिलो छ्यापेर खेल्ने) पर्व, रक्षाबन्धनपर्व, शारदीय नवरात्र, कोजाग्रत पूर्णिमा, दीपावलीपर्व, छठिपर्व, तिलासङ्क्रान्तिपर्व, वसन्तपञ्चमी, जनकपुरधामको परिक्रमा (फागुन शुक्लपक्षमा हुने) र होली (र· र अबीर लगाएर खेल्ने) जस्ता पर्वअवसरहरूबाट पनि समाजमा मनोरञ्जक हुने गर्छ । यसका साथै पवित्र महिना र तिथिहरूमा तीर्थयात्रा गरेर समेत पुण्यका साथ मनोरञ्जन प्राप्त गर्ने गरिएको पाइन्छ ।
    मनोरञ्जनको विषयमा चर्चा गर्दा खेलकुदको उल्लेख गर्नु आवश्यक बुझिन्छ । मिथिलामा साना नानीहरूले अटकनमटकन, ओकाबोका नामक खेलहरू हातका हत्केला र औंलाहरूको माध्यमले खेल्ने गर्दछन् । यस्तै कनियाँपुतरा खेल कपडाका पुतली बनाएर खेलिन्छ । साना बच्चाहरूद्वारा दाल, भात, तरकारी आदि भोज्यपदार्थका प्रतीक बनाएर खेलिने खेललाई दलबाभतबा भनिन्छ । माटोको धूलोको माध्यमले भुइँमा घर बनाएर खेलिनेलाई घौलकामाली भनिन्छ । यसरी नै घुमेर खेलिने खेललाई घुरमी, लुकीलुकी बसेर खेलिनेलाई चोरियानुकिया, आँखा बन्द गरेर खेलिनेलाई अँखमुन्नी, एउटा खुट्टामा उफ्रिनेलाई रेङरेङ, हार्नेलाई मुड्की हान्ने खेललाई मुक्कामुक्का र माटो, खपटा वा ढु·ाका साना टुक्राहरूका माध्यमले खेलिने खेललाई गोटीगोटी भनिन्छ । यी उपर्युक्त खेलहरू प्राय: केटीमान्छेले खेल्ने गरेका हुन्छन् । यस्तै केटामान्छेले खेल्ने खेलहरूमा एउटा सानो र अर्को अलि ठूूलो डण्डाका माध्यमले खेलिने पुलीडण्टा वा  टालपुली (डण्डीबियो) खेल खेलिन्छ, जसमा एक, दुई, तीन आदि गनेर तथा एँडी, दोंडी, तिलिया आदि भनेर खेल्ने गरिन्छ । यसरी नै केटामान्छेले खेल्ने अन्य खेलहरूमा भुइँमा चिह्न बनाएर खेलिने टीकाबासा, सामूहिक रूपमा खेलिने बकरियाथकरिया, आसपास र बगडिल्लो, काठको लट्टू नचाएर खेलिने लट्टू, भुइँमा खोपी (सानो खाल्टो) बनाएर शीशाको सानो गोलीका माध्यमले खेलिने गोलीगोली (गुच्चागुच्चा) र खोपीखोपी, दुई समूहमा विभाजित भएर खेलिने कबडीकबडी र हरदीछूमालाछू, आदि खेलहरूका साथै भकुन्डोको माध्यमले खेलिने खेल गेनगेन इत्यादि खेलहरू पर्दछन् । वयस्कवर्गद्वारा खेलिने खेलहरूमा तास, सतरञ्ज, बाघबकरी, मुगलपैठान र यस्तै कौडीका माध्यमले खेलिने पचीसीखेल र जुआखेल आदि पर्दछन् । यी सबै खेलहरूका आआफ्नै विशेषप्रकारका नियम र विधिहरू रहेका हुन्छन् । यस्ता खेलहरू कम्तीमा दुईजना र बढीमा दुइभन्दा अधिकजना गरी सामूहिक रूपमा मिलेर खेलिने हुन्छन् । यस्तै पिङ खेलेर पनि मनोरञ्जन गरिन्छ, जसलाई मैथिली भाषामा झुलुआझूलब भनिन्छ । यसरी मिथिला क्षेत्रमा अनेक प्रकारका खेलहरू खेलेर मनोरञ्जन गर्ने गरिन्छ ।
    मिथिला क्षेत्रमा मनोरञ्जन गर्ने एउटा माध्यम हास–परिहास (ख्यालठट्टा) गर्नु पनि हो । यस अन्तर्गत परस्पर हास्य–व्यङ्ग्यपूर्ण वार्तालापहरू गरेर मनोरञ्जन गर्ने गरिन्छ । यस्तै गाली गर्नहुने नाता पर्नेहरूबीच परस्पर अश्लील शब्दहरूको प्रयोग गरिनुकासाथै केही फोहर शब्दहरू समेत प्रयोग गरी हाँसेर मनोरञ्जन प्राप्त गर्ने गरेको पाइन्छ । त्यस्तै जिस्किनेहरूलाई जिस्काएर मनोरञ्जन गर्ने गरिन्छ, जसलाई चौलकरब वा उकठकरब भनिन्छ । यसका साथै अनुरागात्मक र वासनात्मक क्रियाकलापहरूलाई पनि मनोरञ्जनको माध्यमको रूपमा लिने गरिएको पाइन्छ । यस्ता क्रियाकलापहरू हुँदा–गरिंदा कहिलेकाहीं शारीरिक र मानसिकरूपमा कष्टकर अवसरहरू पनि आइपरेको देखिन्छ । यसरी यसबाट मनोरञ्जनको सट्टा ईष्र्या–द्वेषजनित अपमानजनक र अप्रिय वातावरणको निर्माण हुनपुग्दछ ।  
    यसप्रकार मिथिलाको समृद्ध संस्कृतिले सुखद सामाजिक जीवनका लागि अपरिहार्य तत्त्वको रूपमा रहेको मनोरञ्जनका लागि विभिन्न प्रकारका साधनहरूको व्यवस्था गरिराखेको थाहा पाइन्छ । यसबाट मानिसहरूको मन–मस्तिष्क प्रसन्न रहनुका साथै जनमानसले चिन्तन र विचारका लागि नवीन ऊर्जा प्राप्त गर्ने बुझिन्छ । यसरी नै मनोरञ्जन–कार्यमा संलग्न समूहका व्यक्तिहरूले समेत आफ्ना कला र कौशल प्रदर्शन गर्न पाउने अवसर प्राप्त गरेका हुन्छन् । यसबाट प्रत्यक्षरूपमा कला–कौशलको क्षेत्रको सकारात्मक विकासमा योगदान पुग्नुका साथै परोक्षरूपमा यसले सभ्यता र संस्कृतिलाई परिष्कृत तुल्याउन सहयोग गरिराखेको हुन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मिथिलामा परम्परागत मनोरञ्जन– एक परिचय
मिथिलामा परम्परागत मनोरञ्जन– एक परिचय
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/01/blog-post_365.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/01/blog-post_365.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy