Posts

Showing posts from December, 2011

जनताको अधिकारसँग खेलवाड गर्ने समाप्त हुन्छ

Image
प्रस, वीरगंज, १४ पुस/     नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले जनताको हक अधिकार र प्रजातन्त्रसँग माओवादीले खेलवाड गरे ऊपनि राणा र राजाजस्तै समाप्त भएरजाने बताएका छन्।     नेपाल टेलिकम वर्कर्स युनियनको दोस्रो केन्द्रीय परिषद्को आज वीरगंजमा उद्घाटन गर्दै सभापति कोइरालाले नेपाली काङ्ग्रेस सदैव जनता र प्रजातन्त्रको लागि लड्दै आएको र जनताको लागि १०४ वर्षको जहानियाँ राणा शासन र २४० वर्षको राजशाही शासनको अन्त गरेको हुँदा माओवादीले जनता र प्रजातन्त्रविरुद्ध कार्य गरे उसको पनि अवसान हुने चेतावनी दिए।     सभापति कोइरालाले माओवादीको बोलीमा विश्वास नभएको र उसले बोलेको कुरा कार्यान्वयन गराउन नसकेको बताए। उनले माओवादी १२ बुँदे सहमति पालना गर्नेतर्फ इमानदार नरहेको बताए । नेपाली काङ्ग्रेस जे बोल्झ सो गर्छ त्यसैले बोल्दाखेरी सोचेर बोल्झ भन्दै सभापति कोइरालाले काङ्ग्रेसलाई सङ्घीयता विरोधी भनेर प्रचार गरिएपनि वास्तवमा काङ्ग्रेस सङ्घीयता विरोधी नभएको बताए। उनले मुलुकले अमन चयन र शान्ति र लोकतान्त्रिक संविधान तथा सङ्घीयता खोजेको हुँदा कति प्रान्त बनाउँदा आर्थिक व्यवहार वहन गर्न सकिन्छ भन्ने व

कल बाइपासका अभियुक्त चारैजना काठमाडौं चलान

प्रस, वीरगंज, १४ पुस/     भिओआइपी सेवा (कल बाइपास) गरेको आरोपमा पक्राउ परेका चारजनालाई आज जिल्ला प्रहरी कार्यालय, पर्साले महानगरीय प्रहरी प्रभार काठमाडौं पठाएको छ। कल बाइपासका आरोपी वीउमनपा–४ निवासी रञ्जीव पराजुलीको काठमाडौं सुकेधारास्थित डेराबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसहित पक्राउ गरिएको कारण सोको मुद्दा महानगरमा चलाइने हुँदा जिल्ला सरकारी वकिलको कार्यालयको सिफारिसमा महानगर पठाइएको पर्सा प्रहरीले जानकारी गराएको छ।     कल बाइपास गरेको अभियोगमा पर्सा प्रहरीले पराजुलीसहित सोही वडाका युवराज भट्टराई, त्रिजल सिंह र कलैया–५ का दीपेन्द्र यादवलाई पक्राउ गरेको थियो।

दुई साता शीतलहरपछि घामसँगै एक्कासि गर्मी बढ्यो

Image
प्रस, निजगढ, १४ पुस/     पुसलाई फासफुस हुने महिनाको रूपमा लिने गरेपनि यस वर्ष पुस महिनाले एक्कासि गर्मी जगाएको छ। तीन/चार दिनअघि झन्डै दुई सातासम्म शीतलहर खेपेका अधिकांश तराईका मानिसलाई ज्याकेट नै दराजमा थन्याउने गरी गर्मी बढ्दै गएपछि जनमानस अचम्भित भएको छ। पुसमा त यस्तो गर्मी छ भने चैत, वैशाख, जेठ अनि भदौको गर्मी थेग्न सकिने हो कि होइन चर्चाको विषय बनेको छ। दुई सातासम्म एकनासे बढ्दो शीत लहर र जाडोका कारण तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहालगायत जिल्लामा दुई दर्जनभन्दा बढी मानिसको कठयाङ्ग्रिएर ज्यान गएको छ।     सरकारले जाडो पीडित परिवारहरूलाई तत्कालै राहत र सहयोग नगरेकोमा विरोध जनाउदै नारा जुलुस समेत प्रदर्शन गरेको पाइयो। पुसजस्तो जाडो महिनामा विगतमा घाम लाग्दै नलाग्ने होइन् तर पारिलो घाम लाग्थ्यो । यसपटक त चिट्चिट् पसिना नै आउने गरी घाम लाग्यो– निजगढ–८ का ८३ वर्षीय नारायणप्रसाद धिताल भन्छन्। पुसमा यस्तो अचाक्ली गर्मी भएको भने, शायद पहिलो नै हो। उनीजस्तै गाउँबस्तीका धेरैजना बूढापाकाहरू यस्तै सुनाउँछन्। जाडोपनि मुटु कँपाउने ररगत जम्ने गरी हुने र गर्मीपनि उस्तै

एक तानाशाहको अवसान- श्रीमन्नारायण

Image
    सन् २०११ तानाशाह र सैनिक शासकहरूको बिदाइ वा अन्त्यको रूपमा चिनिने छ। लिबियाका कर्नेल मुअम्मर गद्यापि, मिश्रका होस्नी मुबारक, अरबका कतिपय राष्ट्र र सिरिया आदिका शासकहरूको पतनका साथै उत्तरी कोरियाका तानाशाह किम जोंग इलको निधन यसको उदाहरण हो। साम्यवादी विचारधारा मान्नेहरू यसमा सहमत नपनि हुन सक्दछन्। किम जोंगको निधनमा दु:ख व्यक्त गर्ने कम्युनिस्टहरू नेपालमा पनि छन्। विश्वका अन्य भागमा पनि होलान् तर यथार्थमा किम जोंग तानाशाह नै थिए।     कुनै पनि देशका नेता जब संसारलाई त्याग गर्दछन् अनि सधैं दु:खकै वातावरण हुन्छ। सबैले दु:ख मनाउँछन् तर तानाशाहहरूको मामिलामा भने यस्तो कुरा हुँदैन। तानाशाहहरूको जीवन गाथासँगै तिनको मृत्यु पनि डर र आशङकाकै वातावरण सृजना गर्दछ। उत्तर कोरियाका नेता किम जोंग इलको निधनपश्चात् पनि विश्वको अवस्था यस्तै खालको छ। जापानले उनको निधनको समाचार सुन्ने बित्तिकै सुरक्षा बैठक गर्‍यो र देशमा आइपर्ने कुनैपनि अवस्थाको मुकाबिलाका लागि तयार रहने निर्णय गर्‍यो। अमेरिका र पश्चिमा देशहरूले पनि यस अवस्थाप्रति गहिरो ध्यान दिएका छन्। संसारमा उत्तर कोरियाको एक मात्र मित्रराष्ट्र चीन प

डा. बाबुराम भट्टराईको सरकारबाट आर्थिक विकासको अपेक्षा

Image
वीरेन्द्रप्रसाद यादव     डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि हरेक क्षेत्रबाट अप्रत्याशित आशा बढेको थियो। उनको नेतृत्वले शान्ति र संविधानमात्र समयमा पूरा हुँदैन, मुलुकको आर्थिक विकास पनि द्रुतगतिले बढ्ने र आम जनताको दैनिक समस्या थोरै भएपनि कम हुने अपेक्षा प्राय:ले गरेका थिए। आम जनताको यो अपेक्षा अस्वाभाविक थिएन, किनभने आर्थिक विषयका उनी प्रकाण्ड विद्वान् मात्र छैनन् सबल र सक्षम नेतृत्व दिने क्षमतावान सफल अर्थमन्त्री पनि साबित भइसकेका छन्। विपन्न परिवारबाट अगाडि बढेकाले अभावग्रस्त र गरीबीको पीडालाई पनि उनले नजिकबाट महसुस गरेकाले गरिब र विपन्न वर्गको अपेक्षा बढ्नु अस्वाभाविक थिएन। ८० प्रतिशत विपन्न वर्ग भएको मुलुकमा विपन्न परिवारका व्यक्ति नेतृत्वमा पुग्दा धेरैको आशा र भरोसा बढ्छ।  विगतमा अर्थमन्त्रीत्वकालमा उनले देखाएको अर्थ व्यवस्था र विकासको सुधारात्मक मार्गले पनि यसको सङकेत दिएको छ।     प्रमको पार्टीले सञ्चालन गरेको बार्‍ह बर्से द्वन्द्वकालमा राज्यको भौतिक संचरना अत्यधिक ध्वस्त पारिएका थिए। शान्ति कालमा ध्वस्त संरचनाको पुनर्निर्माण सुरु  भएको छ। पुनर्निर्माण कार्यमा अहिलेसम्म ६ अ

वैदेशिक रोजगारमा नेपाली महिलाको अवस्था

शीतल महतो     नेपालीहरू काम गर्न विदेश जान थालेको झन्डै दुई शताब्दी हुन लागेको छ। वैदेशिक रोजगारका लागि खुला गरिएको विश्वका एक सय आठ मुलुकमध्ये मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुबेत, ओमान, बहराइन, दक्षिण कोरिया र इजराइल नेपालीहरूको मुख्य गन्तव्य हो । प्रत्येक वर्ष झन्डै साढे चार लाख युवा आन्तरिक रोजगार बजारमा प्रवेश गर्छन्, जसमध्ये साढे तीन लाखभन्दा बढी नेपाली युवा विदेश जाने गरेका छन्। अहिले दैनिक करिब १२ सय नेपाली युवा रोजागार खोज्दै मुलुकबाट बाहिरिइरहेका छन्।     प्राप्त सरकारी तथ्याङकअनुसार वैधानिकरूपमा वैदेशिक रोजगारमा जाने नेपालीहरूको सङ्ख्या २०६८ कात्तिक मसान्तसम्म २२ लाख पुगेको छ। जसमध्ये महिलाको सङ्ख्या ४२ हजारको हाराहारीमा छ। गत आर्थिक वर्षसम्म वैदेशिक रोजगारमा जाने महिलाको हिस्सा २ दशमलव ५८ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको प्रथम चौमासिकमा त्यसमा उल्लेखनीय वृद्धि भई ४ दशमलव ८ प्रतिशत पुगेको छ। वैदेशिक रोजगारीमा नेपालीहरूका लागि प्रमुख गन्तव्य रहेका मुलुकहरूमा करिब दुई लाख महिला कामदारको रूपमा काम गरिरहेका तथ्याङक छ। वैदेशिक रोजगारमा जाने नेपालीहरूको सङ

ग्रामीण विकास राष्ट्रिय विकासको आधार

Image
विश्वराज अधिकारी     नेपालमा दुत्ततर गतिमा आर्थिक विकास हुनका लागि शहरहरू गाउँहरूमा निर्भर हुनुपर्ने हो, अन्य मुलुकहरूमा जस्तो, तर भएको छ विपरीत। नेपालमा गाउँहरू शहरमा निर्भर रहेको स्थिति छ। र यो निर्भरताको इतिहास पनि निकै पुरानो छ। अझै अचम्मको कुरा त के छ भने गाउँहरूलाई शहरप्रति झनै निर्भर तुल्याउने काम भएको छ, त्यस निर्भरतालाई कम गर्न योजनाबद्धरूपमा ठोस प्रयास गर्नुको साटो। रोजगारका लागि होस् वा व्यापारका लागि, गाउँहरूले शहरको मुख ताक्नुपर्ने स्थिति छ। नेपालका गाउँहरू विस्तारै शहरमाथि अति निर्भर हुँदैछन्। परिणामस्वरूप गाउँका बासिन्दा शहर पस्ने क्रम तीव्र रूपमा बढिरहेको छ र यो कार्यले शहरहरू जनसङ्ख्याको चाप धान्न सक्ने क्षमता विस्तारै गुमाउँदै छन्। शहरका बासिन्दाहरूले पानी, बिजुली, सडक, पार्क, सरसफाइ, सार्वजनिक सभागृह आदिसँग सम्बन्धित अनेक किसिमका समस्याहरूको सामाना गर्नु परेको छ, वा भनौं त्यस किसिमका सुविधाहरू प्राप्त गर्न ज्यादै कठिन हुँदै गएको छ। शहर केन्द्रित बसोबासले एकातिर जनसङ्ख्या वितरण असन्तुलित हुँदै गइरहेको छ, बसोबास अव्यवस्थित, अनियन्त्रित हुन पुगेको छ भने अर्कोतिर गाउँहर

चारैतिर बेथीतिको साम्राज्य

 सामान्यतया मानिसले भोक लागेपछि अपराध गर्दछ। त्यसैले मनीषीहरूले अपराधीसँग होइन, अपराधसँग घृणा गर भनेका छन्। तर पेट भरिएको अवस्थामा, बढी सुख–सुविधाको लालसाले कसैले चोरी, डाँकाजनी गर्दछ, भ्रष्टाचारमा प्रवृत्त हुन्छ भने त्यसलाई मन बढेको र राज्य व्यवस्था फितलो भएको परिणामको रूपमा हेर्न थालिन्छ। हाम्रोजस्तो कृषिमा निर्भर समाजमा, प्राय: मानिससँग वर्षभरि खान–लाउन पुग्ने जग्गा–जमिन छैन। जीविकोपार्जनको उपयुक्त र यथेष्ठ साधन सरकारले जुटाइदिन सकेको छैन। अनि जोसँग जग्गा–जमिन छ, जसले अन्नपातको जोहो गर्न सकेको छ उसको आधा जीवन उत्पादन गर्न र आधा त्यसको संरक्षण गर्न समाप्त हुने गरेको छ। किनकि अन्नपात कि त बेचेर तह लगाउनुपर्‍यो कि घरमा थन्क्याएर राख्नुपर्‍यो। यस्तोमा चोर–डाँकाहरूलाई सजिलो। केही नपाए अन्नपात त हात लाग्छ। झन् गृहस्थ अलि बलियो छ भने केही नगद, गरगहना आदि पनि फेला परिहाल्छ। देशमा सुरक्षा निकायसँग जनशक्ति पनि कम छ, जुन छ त्यो शहरकै रक्षा गर्न समर्थ छैन, गाउँघरको कसले वास्ता गर्ने ? त्यसैले गाउँघरमा बढी चोरी–डाँकाजनी हुने गर्छ।     पहिले–पहिले वैशाख महिना बितेपछि यदाकदा र असारत

हतियारधारी डाँकाले गाउँलेलाई घाइते बनाई तीन लाख लुटे

Image
प्रस, कलैया, १३ पुस/     बारा, सिमरा–६ औराहामा मङगलवार अज्ञात हतियारधारी डाँका समूहले तीन लाख रुपियाँ लुटेर लगेको छ। डाँका समूहले स्थानीय मुकुन्द पौडेलको नगद रु. दुई लाख र तिलक सुवेदीको नगद रु. १ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। डाँका समूहको प्रतिकारमा स्थानीय  आधा दर्जन व्यक्ति घाइते भएका छन्। जसमध्ये दुईजना गम्भीर घाइते भएका छन्।     घाइते हुनेमा २२ वर्षीय बिन्दु सुवेदी, १६ वर्षीय मदन सापकोटा, २० वर्षीय गोकुल पौडेल, १८ वर्षीया यशोदा पौडेल, ३० वर्षीया मञ्जु सुवेदी, ८७ वर्षीया वृद्धा हरीकला सुवेदी र ४५ वर्षीय मुक्ति पौडेल रहेका छन्। घाइतेहरूको उपचार नेशनल मेडिकल कलेज वीरगंजमा भइरहेको छ। घाइतेमध्ये मञ्जु सुवेदी र मुक्ति पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।     १५/२० जनाको सङ्ख्यामा आएको हतियारधारी डाँका समूहले उनीहरूको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ। डाँकाहरूले खुकुरी, बन्दूक, बन्चरो प्रहार गरेका थिए। गोलीको छर्रा लागी चुडामणि पौडेल घाइते भएका छन्। प्रहरीले अनुसन्धानका लागि स्थानीय १० जनालाई पक्राउ

रौतहटमा पशुको कृत्रिम गर्भाधान

प्रस, रौतहट, १३ पुस/     पशुमा कृत्रिम गर्भाधान गर्न थालेपछि रौतहटका किसानले राँगो र बहर पाल्न छाडेका छन्।     भैंसीलाई राँगोको सट्टा कृत्रिम गर्भाधान गराउन थालेपछि रौतहटका किसानले राँगो तथा बहर पाल्न छाडेका हुन्। जिल्ला पशु कार्यालय, रौतहटले न्युनतम शुल्कमा पशुको कृत्रिम गर्भाधान गराउने प्रविधि ल्याएपछि किसानले राँगो र बहर पाल्न छाडेको कार्यालयले जनाएको छ।     भैंसी वा गाईलाई गर्भाधान गराउँदा रु. २०५ देखि रु. ५०० सम्म राँगा तथा बहर पाल्नेले लिने गरेको किसान बताउँछन्।     कृत्रिम गर्भाधान सजिलो तथा झन्झटमुक्त भएका कारण आफ्नो पशुलाई कृत्रिम गर्भाधान गराएको चन्द्रनिगाहपुरका पशुपालक मीनप्रसाद मैनाली बताउँछन्।     पशुमा कृत्रिम गर्भाधान गराउँदा पशुले दूध पनि धेरै दिने, उच्च नस्लको पशु उत्पादन हुने गरेको कारण किसान आकर्षित भएका पशु चिकित्सक खड्ककुमार मैनालीले बताए।     यसैगरी जिल्लास्थित केही गाविसका किसानले आफ्नै घरमा प्राङ्गारिक मल बनाउन थालेपछि रासायनिक मलको प्रयोगमा कमी आएको छ।     जिल्लाको चन्द्रनिगाहपुर, पौराई, सन्तपुर, डुमरियालगायत गाविसका किसानले आफ्नै घरमा तयार पारेको प्राङ्

व्यापार मेला घुम्नुस् तर होशियार चोर चाइँको फेला पर्नु होला

Image
प्रस, वीरगंज, १३ पुस/     वीरगंज उद्योग वाणिज्य सङ्घलगायतको आयोजनामा वीरगंजको आदर्शनगरमा सञ्चालित नेक्स्पो–२०११ अन्तर्राष्ट्रिय व्यापारमेलामा चोर–चाइँहरूको बिगबिगी देखिएको छ।     मेला सुरु भएकै दिनदेखि चोरचाइँहरूले आफ्नो कला कुशलता प्रदर्शन गर्दै थुप्रैजनाको मोबाइल, पर्स आदि चट पार्न सफल भएका छन्। यसरी मोबाइल, पर्स चोरी गर्ने समूहमध्ये एकजनालाई मात्र हालसम्म त्यहाँ तैनाथ सुरक्षाकर्मीले पक्राउ गर्न सकेको छ। वीरगंजमा अष्टमीको बेला माईस्थान मन्दिरमा लाग्ने मेलाको लागि भारतबाट आउने चोरचाइँहरूको समूह यसपटक मेलाको प्रचार भारतमा समेत भएपछि आएको अनुमान गरिंदैछ। पकेटमा राखेको मोबाइल, पर्सहरू भीडको बेला बडो कुशलतापूर्वक चट गर्न खप्पिस यी चोरचाइँहरूले दैनिक एक दर्जनको हाराहारीमा मानिसहरूको पर्स, मोबाइलहरू चोरी गर्दै आएका छन्। मेला सुरु भएकै दिन ५ जनाको मोबाइल चोरी भएको थियो भने त्यसपछिका दिनमा पनि निरन्तर जारी छ। मेलामा भीडको अवसर पारेर पुरुष चोरचाइँ मात्र होइन महिलाहरूले पनि सजिलै मोबाइल, पर्स चोरी गर्ने गरेको पाइएको छ। नाम नखुलेको काफ्ले थरका एकजनाले आफ्नो पर्स चोरी भएको सचिवालयमा गुनासो गर्द

नयाँ संविधानमा महिलाका हक सुनिश्चित गरियोस् - सावित्रा सुवेदी

    हाम्रो देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा महिलाले ओगटेको छ। परापूर्वकालदेखि नै सामाजिक बनोट, संरचना र सांस्कृतिक मान्यताले शिक्षामा महिलाको पहुँच ज्यादै न्यून रहेको छ। गुणस्तरीय शिक्षामा महिलाको पहुँच कम भएको कारण समाजमा अपेक्षित धार्मिक, आर्थिक, सामाजिक, राजनैतिक र भौगोलिक परिवर्तन हुन सकेको छैन । समाज परिवर्तनका लागि महिलामा चेतनाको विकास गर्नुपर्छ, अनिमात्र समाजलाई समयानुकूल परिवर्तन गर्न सकिन्छ। जबसम्म यो समाजले महिला र पुरुषलाई हेर्ने फरक दृष्टिकोणमा परिवर्तन आउँदैन, तबसम्म समाजमा दिगो शान्ति र सुधार ल्याउन सकिंदैन।     आजको एक्काइसौं शताब्दीमा आएर पनि महिलाहरू शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित हुनु, छोरीलाई पढाएर के हुन्छ ? आखिरमा बिहे नगरी हुन्न ? पढे पनि छोरीलाई जागिर कसले दिन्छ र फेरि घरभन्दा बाहिर बसेर छोरीलाई पढाउँदा वा जागिर ख्वाउँदा कसैले उसको अस्मितामाथि खेलवाड गर्‍यो भने यसको जिम्मा कसले लिन्छ ? भन्ने मानसिकताले गर्दा आम ग्रामीण भेगका महिलाहरू अधिकार र अवसरबाट वञ्चित हुन पुगेका छन्।     कतिपय महिलाहरूलाई बोक्सीको आरोप लगाउँदै दिसा खुवाउने, कालोमोसो र जुत्ताक

आधुनिक समाजमा छुवाछुतको नवीन संस्करण- सञ्जय साह ‘मित्र’

Image
    गणतन्त्रात्मक नेपालको नयाँ पहिचान स्थापित हुँदै गर्दा नेपालको आन्तरिक जीवनमा पनि प्रभावहरू देखिन थालेका छन्। हिजोको एकात्मक शासन प्रणालीबाट विविधतापूर्ण समाजको संरचनाभित्र मुलुक पस्दै गरेको सङ्क्रमणकालीन वर्तमान अवस्थामा केही नयाँ किसिमका समस्याहरू देखिन थालेको छ। एउटा भाषा, एउटा वेश, एउटै राजा एउटै देश भन्ने मानसिक अवस्थाबाट पार पाउँदै वर्तमान समाज मनोविज्ञान आफ्नो निजी अस्तित्व र पहिचानको खोजीतर्फ लम्किरहेको छ।     आफ्नो पहिचान विस्तार गर्ने बाटोमा आँखा चिम्लेर हिंडेका समुदायहरू भोलि यसको दुष्परिणाम कस्तो हुने भन्ने विषयमा उति सारो सचेत देखिएका छैनन्। यसले गर्दा कतै कट्टरता फेरि बढ्ने हो कि भन्ने आशङका बढेको छ। र यदि कट्टरता बढ्ने हो भने जातीय निषेधको पुरानो संस्कार फर्किने सम्भावना पनि उत्तिकै छ। समाज अगाडितिर बढ्ने क्रममा कतै पछाडि पो फर्किने हो कि भन्ने सकारात्मक आशङकाहरू बुद्धिजीवीहरूद्वारा गरिन थालिएको छ। यद्यपि सङ्क्रमणकालको कुनै पनि अवस्था स्थायी हुन्छ भन्ने होइन । तर निरन्तर एकपछि अर्को सङ्क्रमणको भुमरीमा नेपाली समाज निरन्तर अल्झिइरहेकोले यसको प्रकृति चञ्चले रहेको छ। पञ्

माईराम पोखरीको उद्धार

    वीरगंजको सबैभन्दा चर्चित अतिक्रमणको कुरा गर्ने हो भने त्यो हो माइराम पोखरीको जग्गा कब्जा अभियान। माईराम पोखरी वास्तवमा वीरगंजको त्यो गङगा हो जसमा  सबैले हात ‘साफ’ पारेका छन्। के धर्मी के अधर्मी, के सामान्य र के विशिष्ट जसको भाग्यले यस पोखरी छेउछाउको जग्गा खरिद गर्ने मौका पायो उही करोडपति बन्यो। लाचार वीरगंज उपमहानगरपालिका, ब्वाँसाजस्ता दलीय सल्लाहकार र प्रकारान्तरले स्वयंघोषित प्रतिनिधिहरूको कर्तूत मात्र होइन यस पोखरीको विनाशका लागि सुरुदेखिका जनप्रतिनिधिहरूको अकर्मण्यता पनि कम जिम्मेवार छैन। सानो शहर सबैको सबैसँग चिनजान, फेरि समाजका वरिष्ठ व्यक्तिहरूले नै पोखरीको जग्गामा धावा बोल्दा कसले रोकोस् अतिक्रमण ? सबैले माईराम पोखरीको चोक्टा लुछेका छन्, चोक्टा नपाउनेले झोल भएपनि तन्काएका छन्। नतिजा भोलि शहरको मनोरञ्जक स्थलको रूपमा परिणत हुनसक्ने पोखरी साँगुरिएर नालामा मात्र सीमित हुन पुग्यो। झन् वीरगंजको ढल र नाला त्यतै भएर बग्ने योजना बनाइएपछि अतिक्रमणकारीलाई हाइसुख्ख हुने भइहाल्यो। किनकि त्यो मूल नालाको छेउमा घर हुने कसले पो अतिक्रमण गरेको छैन र १     माईराम पोखरीको यस्तो हविगत हुनुपछाड

अतिक्रमित जग्गा खाली गराउने अभियानको निरन्तरता माईराम पोखरीको अतिक्रमण हटाउने कार्य सुरु

Image
प्रस, वीरगंज, १२ पुस/     वीरगंज उपमहानगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको संयुक्त प्रयासमा  विगत तीन सातादेखि अतिक्रमित जग्गा खाली गराउने अभियानले हालसम्म निरन्तरता पाएको छ। यसै क्रममा आज विगत कैयौं वर्षदेखि वीउमनपा–५ भगवती टोलस्थित सार्वजनिक माईराम पोखरीको अतिक्रमित जग्गालाई आजदेखि खाली गराउन थालिएको छ।             पाँच बिघाभन्दा  बढी जग्गा रहेको सो सार्वजनिक पोखरीको डिल छेउ ४ देखि १० धुरसम्म नम्बरी जग्गा खरिद गरेका व्यक्ति पोखरीको जग्गा अतिक्रमण गरेर तीन–चार कट्ठाको हाराहारीमा भोग गर्दै आएका छन्। सो अतिक्रमण हटाउन यसअघि वीरगंज उपमहानगरपालिकालगायत स्थानीय व्यक्ति, संस्थाहरूले गरेको कैयौं प्रयास खेर गएको थियो। आज अन्तिम चेतावनी दिएपछि अतिक्रमण गरेका व्यक्तिहरूले आफैं जग्गा खाली गर्न थालेका छन्। उनीहरूले अतिक्रमण गरेको जग्गामा बनेको निर्माण मजदुर लगाएर तोडफोड सुरु गरेका छन्। पाँच बिघाभन्दा बढीको माईराम पोखरी हालका दिनमा चारैतिरबाट अतिक्रमण भएपछि नालाको रूपमा परिणत भएको थियो।

जिविस बाराको ताला खोल्ने सहमति गलत गर्नेमाथि कडा कारबाई हुन्छ– प्रजिअ उपाध्याय

उपेन्द्र यादव, बारा, १२ पुस/     जिल्ला विकास समिति बारामा आठ राजनीतिक दलका युवा सङगठनले बितेको शुक्रवारदेखि गरेको तालाबन्दी बुधवारदेखि खोल्ने सहमति भएको छ।     आठ युवा सङगठनका प्रतिनिधिहरू र बारा प्रमुख जिल्ला अधिकारी वसन्तकुमार उपाध्यायबीच प्रजिअकै कार्य कक्षमा आज बेलुकी भएको छलफलपछि ताला खोल्ने सहमति भएको हो।     युवा सङगठनहरूले अगाडि सारेका पाँच सूत्रीय माग पूरा गराउनेबारे प्रजिअ उपाध्यायले प्रतिबद्धता जनाएपछि ताला खोल्न युवाहरू राजी भएका हुन्। युवा सङगठनहरूले शुक्रवार बुझाएको पाँच सूत्रीय मागमा निलम्बनमा परेका जिविस बाराका मेघु जयसवाललाई जिविसमा प्रवेश निषेध गर्नुपर्ने, निजको कोठामा भएका सम्पूर्ण कागजपत्र जफ्त गर्ने, जिविस सुचारु सञ्चालन हुनुपर्ने तथा जिविसका अन्य कर्मचारीलाई भयरहित वातावरणमा काम गर्न पाउनु पर्ने माग समेटिएका थिए।     सरकारी तलब भत्ता खाएका कुनै पनि कर्मचारीले राष्ट्र र जनताको सेवकको रूपमा काम नगरी लापरवाही गरे कडा कारबाई गर्न पछि नपर्ने प्रजिअ उपाध्यायले छलफलका क्रममा बताएको सहभागी युवा नेता ध्रुव यादवले बताएका छन्।

कल बाइपास : अन्तर्राष्ट्रिय सञ्जाल

शत्रुघ्न नेपाल     पर्सा प्रहरीले भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) कल बाइपासमा हालै चारजनालाई पक्राउ गरेपछि अहिले यो घटनाले वीरगंजलगायत देशभरमा चर्चा पाएको छ।     नेपाल टेलिकम, एनसेल र युटिएल नेपालका आधिकारिक नेपाल टेलिकम कम्पनीले सरकारलाई राजस्व तिरेर दिने सेवालाई इन्टरनेटमार्फत् छली गरेर आम्दानी गर्ने कार्यमा सक्रिय रहेका गिरोहहरूलाई राजधानीपछि वीरगंजमा मोबाइल सेवाको प्रयोग भएपछि पहिलोचोटी पक्राउ गरिएको हो। पक्राउ पर्नेमा वीरगंजमा चर्चित वीरगंज–४ का रञ्जीव पराजुलीसमेत आन्तरिक राजस्व कार्यालयका अस्थायी कर्मचारी त्रिजल सिंह, युवराज भट्टराई र कलैया नगरपालिका–५ का दिपेन्द्र यादव रहेका छन्।     वीरगंज–१० ब्यारेकपछाडि यो गिरोहले आजभन्दा तीन–चार वर्ष अगाडिदेखि कल बाइपासको काम गर्दै आएको थियो। वीरगंजमा कल बाइपासबारे व्यापक चर्चा–परिचर्चा भएपछि गिरोहका रञ्जीव पराजुली राजधानीबाट र दिपेन्द्र यादव, युवराज भट्टराई र त्रिजल सिंहले सीमावर्ती रक्सौल डङकन नजिकबाट यो अवैध सेवालाई निरन्तरता दिंदै आएका थिए । यसै क्रममा नेपाल नेपाल टेलिकमले खडा गरेको कल बाइपास इन्क्वायरी टोलीले वीरगंज क्षेत्रबाट

विशिष्टहरू नै अशिष्ट- विनोद गुप्ता

Image
    सर्वोच्च अदालतको माननीय न्यायाधीशको अवधेशकुमार यादव र भरत उप्रेतीको इजलासले राजपरिवारका सदस्य, पूर्वप्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, पूर्व गृहमन्त्रीलगायत सरकारी ढुकुटीबाट प्रयोग गर्दै आएको गाडी, पछुवा गाडी, चालक र घरभाडा आदिको सुविधा लोकतान्त्रिक संविधानको शपथ लिने सबैको लागि गैरकानुनी भएको ठहर गरेको छ। आफ्नो ५ बुँदे निर्देशनात्मक आदेशमा सर्वोच्च अदालतले सर्वप्रथम (क) आम नेपाली जनता र विदेशी ऋण सहयोगबाट सञ्चालित मेलम्ची खानेपानी आयोजनाको नाउँबाट महँगो सवारीसाधन खरिद गर्न लगाई पूर्व प्रधान, उपप्रधानमन्त्री र तिनका आसेपासेलाई प्रयोग गर्न दिने नेपाल सरकारको कार्य प्रचलित सुशासन ऐनविपरीत भएको भन्दै आवश्यकताभन्दा बढी परियोजनाको गाडी खरिद गरी व्ययभार बढाउने कार्यलाई बन्देज लगाएको छ । (ख) उल्लिखित प्रकरणमा पर्ने ६ वटा समूहमा पर्ने व्यक्तिहरूलाई मन्त्रिपरिषद्को निर्णयबाट दिइँदै आएको घरभाडा, सवारीसाधन एवं इन्धन खर्चको सुविधा गैरकानुनी भएकोले तत्काल बन्द गर्ने र सो भए नभएको जानकारी गराउने जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवं महालेखालाई दिएको छ। (ग) सरकारी सेवामा रही अवकाश प्राप्

छोरी–बुहारीमा फरक

Image
 –कुमार रुपाखेती     २००७ साल, २०४७ साल र ०६२/०६३ को जनान्दोलनमा नेपाली महिलाहरूको सक्रिय योगदान रहेको कुरा कसैसँग छिपेको छैन। प्रत्येक आन्दोलन र क्रान्तिहरूमा आन्दोलनकारी शक्तिहरूसँग काँधमा काँध मिलाएर आन्दोलनलाई उचाइमा पुर्‍याउने नेपाली महिलाहरूको एउटा गुनासो सदैव रहिआएको छ। त्यो के भने महिलाहरूले राजनीतिमा उचित स्थान पाएनन्, महिलाहरूलाई अधिकार भएन, सरकारी सेवामा महिलाहरूले प्राथमिकता पाएनन् आदि इत्यादि। राजनीतिमा सक्रिय भए पनि उपेक्षित रहेका केही महिलाहरू आफ्नो उपयोगिता – ‘काम लागुन्जेल भाँडो, काम सकिएपछि ठाँडो’सरह भएको दु:खेसो पोख्छन्। नेपाली राजनीतिमा ठूलो त्याग र बलिदान गर्ने शैलजा आचार्यको उदेकलाग्दो अवसान धेरैले बिर्सेका छैनन् होला।     तर वर्तमानमा महिला अधिकारकर्मीहरूलाई म एउटा टीठलाग्दो सत्यसँग साक्षात्कार गराउन चाहन्छु। नेपालमा प्रजातन्त्रको लागि आहुति दिने, जनयुद्धका लागि बन्दूक बोक्ने नेपाली छोरीहरूले उचित स्थान र सम्मान नपाए पनि मुग्लान (भारत) माइती भएका र नेपाली नागरिकसँग विवाह गरी अङगीकृत नागरिकता पाएका भारतकी छोरी– नेपाली बुहारीहरूले अहिले नेपालको राजनीतिमा राम्रै स

कसले गर्ने मरम्मत सम्भार

    पूर्व–पश्चिम राजमार्गका पुल–पुलेसाहरू जीर्ण बन्दै गइरहेका छन्। लामो समयसम्म उचित रेखदेख नहुनु, निर्धारित क्षमताभन्दा बढी भारवहन गर्नु आदि कारणले ठूला–ठूला पुलहरूका ढलान भत्कन लागेका छन् जसले गर्दा बाहिरी हावा र पानीको सम्पर्कले फलाममा खिया देखा पर्न थालेको छ। ढलान विस्तारै भत्कँदै जानु र फलाममा खिया लाग्नुले पुलहरूको आयु निकै कम पारिदिन्छ। विभिन्न मित्रराष्ट्रहरूको सहयोगबाट तीस वर्षभन्दा पहिले निर्मित यी पुलहरू खसे भने राष्ट्रको वर्तमान हैसियतले तिनको निर्माण सम्भव छैन र मरम्मत र निर्माणका लागि पनि कुनै दाताकै मुख ताक्नुपर्ने बाध्यता आउन सक्छ। राष्ट्रको हैसियतको कुरा गर्ने हो भने त भत्केका सडक त मरम्मत गर्न सक्दैन भने पुल नै भत्कियो भने पुन: निर्माणको के अवस्था होला ? फेरि पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि ढल्केबरसम्म खण्ड बनाउने तत्कालीन सोभियत सङ्घ अब अस्तित्वमा पनि छैन । बाध्यतावश दातृ राष्ट्रले पुन: निर्माण अथवा मरम्मत गराइ नै दिने हो भने पनि जुन राष्ट्र अब छँदैछैन उसले कहाँबाट बनाइदिने ?     अङ्ग्रेजीमा एउटा उखान छ–स्टिच इन टाइम सेभ्स नाइन। कुनै काम बिग्रेपछि बनाउँदा दस रुपि

प्रहरीद्वारा कल बाइपास गर्ने गिरोह सार्वजनिक

प्रस, वीरगंज, ११ पुस/     जिल्ला प्रहरी कार्यालय, पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी अवैधरूपमा कल बाइपास (भीओआइपी) सञ्चालनकर्ताहरूलाई पक्राउ गरेको सन्दर्भमा आज उनीहरूलाई सार्वजनिक गरेको छ।     जिल्ला प्रहरी कार्यालय, पर्सामा आयोजित पत्रकार सम्मेलनमा अभियुक्तहरूलाई सार्वजनिक गर्ने क्रममा प्रनाउ दिवस लोहनीले वीरगंज–४ का रञ्जीव पराजुली, त्रिजल सिंह, युवराज भट्टराई र बारा जिल्ला कनपा–५ का दिपेन्द्रप्रसाद यादवलाई भिओआइपीको अवैध सञ्चालनमा पक्राउ गरिएको बताए। उनले रञ्जीव पराजुलीको काठमाडौं सुकेधारास्थित घरमा छापामारी गरेर नमस्ते नेपालको सिम निकाली प्रयोग गरी खाली अवस्थाको कार्ड ७४ वटा, एनसेलको ८८ वटा र एनसेलकै प्रयोग नगरिएको नयाँ सिमसहितको कार्ड २३, एनसेलको रिचार्ज गरेको रु. ३०० को २० थान, रु. १०० को २५८ र एनटिसीको रिचार्ज खाली कार्ड १००० को ९६ थान, लेनोभो कम्पनीको ल्यापटप १, फोर पोर्टको चारवटा सिम लाग्ने गेटवे १ थान, सिग्नल बेन्ड सेलुलर रिपिटर १, केबुल एन्टिना १, पावर एडप्टर ८, भिओआइपी उपकरण जोड्ने तार तथा एडप्टरहरू, १० थान चार्जर, ३ थान पावर केबुल, ५ थान नेटवर्क केबुल विभिन्न बैंकको

बारा पिसिएफ शिक्षकहरू आन्दोलित

Image
उपेन्द्र यादव, बारा, ११ पुस/     शिक्षामन्त्री दिनानाथ शर्माले केही दिन पहिले पौष महिनाको ‘शिक्षक’ मासिक पत्रिकामा पिसिएफ शिक्षकहरूलाई बुल्डोजर लगाएर वा पेट्रोल हालेर नष्ट गर्नुपर्ने दिएको अभिव्यक्तिको विरोधमा पिसिएफ शिक्षकहरू आन्दोलित भएका छन्।     मन्त्री शर्माको विरोधमा बारामा सोमवार निकालिएको विरोधर्‍याली भरत चोकमा पुगी कोणसभामा परिणत भएको थियो। नेपाल शिक्षक युनियन बाराका अध्यक्ष देवेन्द्र गिरीले राजनीतिक दलहरूको दोहोरो नीतिका कारण देशमा शिक्षकहरूमाथि अन्याय हुँदै आएको बताएका थिए।     गिरीले मन्त्री शर्मा आफैं शिक्षकबाट राजनीतिमा आएको हुनाले उनले शिक्षकहरूबारे दिएको अभिव्यक्ति गैरजिम्मेवार भएकोले उनले राजीनामा दिनुपर्छ बताए। सरकारी नीतिका कारण शिक्षकहरू सधैं कुनै न कुनैरूपले आन्दोलनमा रहेपनि उनीहरूले इमानदारी साथ विद्यार्थीहरूलाई अध्यापन गराउने काम गर्दै आएको बताए।     कोणसभामा नेपाल राष्ट्रिय शिक्षक परिषद्का ब्रजकिशोर मिश्र, शैक्षिक गणतान्त्रिक मञ्चका पवनकुमार सिंह, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङगठनका प्रतिनिधीहरूले शर्माको गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरेक

नियमनहेतु दण्ड र पुरस्कार

    समाजमा सद्भाव, सहयोगको स्थापना र समाजोन्नतिका लागि दण्ड र पुरस्कारको व्यवस्था अति नै आवश्यक मानिएको छ। यसको निरन्तर अभ्यासले साधन–स्रोतविहीन समाजलाई पनि सानो अवधिमा उन्नतिको चुचुरोमा पुर्‍याउन सकिन्छ। किनकि मानवको स्वभाव हो गल्तीप्रति शीघ्र लहसिनु र असल आचरण पन्छाउँदै जानु। यसरी एउटा गल्ती गर्ने बित्तिकै यथायोग्य दण्डको व्यवस्था र कसैले कुनै राम्रो काम गरेको छ भने त्यसलाई पुरस्कृत गर्दा समाजमा गलत कामप्रति भय हुन्छ भने असल कामका लागि प्रेरणा प्राप्त हुन्छ। हामीले देखेको र भोगि पनि रहेको कुरा के हो भने हाम्रो समाज आज दुई दशकदेखि सङ्क्रणकालबाट गुज्रिरहेको छ । लामो सङ्क्रमणकालले समाजको रीतिथीति र मर्यादा भङग गरिदिएको छ, जहाँ पनि जता पनि जसमा पनि अराजक सोच हावी छ। यसो हुनुमा विभिन्न कारणले सङ्क्रमणले प्रोत्साहन पाउनु नै हो । गलत गर्नेलाई समाज, राज्य वा कानुनको भय रहँदैन, राज्यले उसलाई दण्डित गर्न सक्दैन भने सबैमा व्यक्तिगत वा साङगठनिक शक्तिको भरमा अराजकता फैलाउने मानसिकता उत्पन्न हुन्छ।     अर्को कुरा के पनि छ भने मानिस जति छिटो नराम्रो काम सिक्छ असल काममा प्रवृत्त हुन उसलाई समय लाग्छ

सेनामा मधेसी भर्ना र वैधानिक आधार - अधिवक्ता वीरेन्द्र प्रसाद यादव

Image
    एक लाखको हाराहारीमा रहेको नेपाली सेनामा मधेसीलगायत शोषित उत्पीडित जनताको न्युन सहभागिता पूरा गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेपनि कार्यान्वयन हुन सकेको थिएन। बाबुराम भट्टराई सरकारले तीन हजार उपेक्षित नागरिकलाई  भर्ना गरिने निर्णय गरेको छ। यो सङ्ख्या थोरै भएपनि यसलाई सकारात्मक सुरुआत मान्न सकिन्छ।     सबैको सम्मान हुने र सबैको अधिकार सुनिश्चित हुने आधार भयो भनेमात्र राष्ट्रिय सेनाको एकीकृत ऊर्जा बढ्छ र राष्ट्रिय एकता पनि बलियो हुन्छ। नयाँ नेपालको मूल मर्म पनि पूरा हुन्छ। काम जोसुकैले गरोस्, जनहित, राष्ट्रहित तथा आम जनताको चाहना मुताबिक छ भने सबैले समर्थन गर्नैपर्छ। राष्ट्र हितविपरीत छ भने सबैले विरोध गर्नुपर्छ। समावेशी सेना बनाउने सम्बन्धमा सरकारको वर्तमान निर्णयको विरोध भएपनि यसको वैधानिक, राजनैतिक, सैद्धान्तिक तथा व्यावहारिक आधार पनि छ। राज्यको मूल उद्देश्य अनुकूल पनि छ।     २०६२ सालमै राज्यले यस कुरालाई स्वीकार गरेको देखिन्छ। त्यसपछि २०६४ साल फागुन १६ गते भएको आठ बुँदे सहमतिमा पनि सबै शक्तिले स्वीकार गरेका छन्। उक्त सहमति तत्कालीन सरकारले मात्र गरेको होइन, तीनवटै ठूला दलका सं

लोकमार्गका पुलहरूको ढलान भत्कने क्रम बढ्दो, छड खियाको चपेटामा

Image
जीतलाल श्रेष्ठ, निजगढ, ११ पुस/     लोकमार्ग अन्तर्गतका पुलहरूको अवस्था जीर्ण हुँदै गएको पुलको हालको अवस्थाले देखाउँछ । ढलान गरिएका पुलहरूको बिमहरूमा फलामे छड देखिने क्रम केही वर्ष यता बढ्दै गएपछि पुल सड्ढटको घेरामा पर्दै गएको हो ।     पुलहरूको भारवहन गर्न सक्ने क्षमताभन्दा बढी भार बोकेका टिपर, लहरी, मालवाहक ट्रकहरू पुलबाट ओसारपसार गर्ने गरेपछि पुलको सिमेन्टेड ढलान फुट्दै बिमका छडहरू देखिएका छन् । कुनै पनि निर्माण कार्य भवन, पुल वा अन्य ढलान निर्माण कार्यमा प्रयोग गरिएका फलामे छडहरू देखिनु र यतिकै छोडिनु त्यस संरचनाको आयु समयभन्दा चाँडै घटाउनु रहेको सिभिल प्राविधिकहरू बताउँछन् । यदि यस्तो देखिए वा पाइए सकभर चाँडै नै ढलान नभए पनि प्लास्टर गरी छोपिदिंदा हावाले फलाम वा छड खिइनबाट बचाउन मदत पुग्ने प्राविधिकहरू बताउँछन् ।     लोकमार्ग अन्तर्गत सडकखण्डमा रहेका अधिकांश पुलहरू झण्डै ८/१० वर्ष यतादेखि क्रसर उद्योगको रोडा, गिट्टी सरकारले तोकेको क्षमताभन्दा बढी लोड गर्दै दैनिक सयौं टिपरको प्रयोग हुँदै आएपछि पुल सड्ढटमा परेको जानकारहरू बताउँछन् ।     वन–वे रूपमा पुल पार गर्नुपर्ने मापदण्ड अनुसा

ब्याडमिन्टन प्रतियोगितामा विभिन्न जोडी विजयी

प्रस, कलैया, ११ पुस/     बारा जिल्ला खेलकुद विकास समिति एवं नगर खेलकुद विकास समितिको सहयोगमा बारा ब्याडमिन्टन सङ्घको आयोजनामा कलैयामा सञ्चालित बारा, पर्सा, मकवानपुर नकआउट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा युगलतर्फ रमेश खरेल र पङकज श्रेष्ठको जोडी विजयी भएको छ। खरेल र श्रेष्ठको जोडीले ध्रुव सिंह ठकुरी र  दिपेन्द्र श्रेष्ठको जोडीलाई सोझो सेटमा २१–१४, २१–१४ ले पराजित गरी विजयी भएको हो।     यस्तै महेश श्रेष्ठ र भूपेन्द्र मल्लको जोडीले पूर्णचन्द्र जोशी र हरि डिसीलाई सङ्घर्षपूर्ण सेटमा २२–२०, २१–१४, र १६–२१ ले पराजित गरेको छ। दिपक थापा र राजकिशोर साहको जोडीले पुरुषोत्तम केसरी र विनोद साहको जोडीलाई सोझो सेटमा २१–१०, २१–१३ ले पराजित गरेको हो। नरेश कायस्थ र प्रकाश हाडाको जोडीले महेश श्रेष्ठ र भूपेन्द्र मल्ललाई सोझो सेटमा २१–१२, २१–११ ले पराजित गरी विजयी भएको हो।

गर्दौल–पोखरिया सडकखण्डलाई कालोपत्र गर्न अख्तियारको निर्देशन

आरके पटेल, लङगडी, १० पुस/     गर्दौल–पोखरिया सडकखण्डलाई अविलम्ब कालोपत्र गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंले ठेकेदार साबिर मियाँलाई निर्देशन दिएको छ।     सो सडकखण्ड कालोपत्र गर्न ठेकेदार मियाँले जिल्ला विकास समिति पर्सामार्फत् २०६३ पुस मसान्तमा ठेक्का सकार गरेका थिए। कालोपत्रे काम थोरै गरेर बढी भुक्तानी लिएर ठेकेदार मियाँ काम छाडी फरार भएका थिए। मियाँविरुद्ध एक वर्ष पहिले अख्तियारमा मुद्दा दर्ता भएको थियो। १४ महिनामा काम सम्पन्न गर्ने कबोल गरी ठेकेदारले ३ वर्षसम्म पटक–पटक म्याद थपाउँदै आएको देखिन्छ। सो सडकखण्ड कालोपत्र गर्न अख्तियार कार्यालयले दुई दिनअगाडि जिविस पर्सामा पत्राचार गरेपछि अहिले सो कार्यालयमा हल्लाखल्ला मच्चिएको छ। जिविस पर्साले निश्चित म्याद दिई लागत स्टीमेट अनुसार सबै काम सम्पन्न गराउने, ठेकेदारले काम नगरेमा नेपाल सरकारको नोक्सानी यकिन गरी ब्याजसहित हर्जाना तिराई अख्तियार दुरुपयोग कार्यालय काठमाडौंमा जानकारी दिने सो पत्रमा उल्लेख गरिएको छ। कालोपत्र गर्न रु. १ करोड ४५ लाखमा ठेक्का सकार भएको थियो। पर्साका ८२ गाविसले १/१ लाख तथा सडकसँग टाँसिएका गाविसले २–२ ल

निस्स्वार्थ कलम चलाउनेले गलत क्रियाकलाप गर्नेलाई झुकाउँछ– नेता केसी

Image
उपेन्द्र यादव, बारा, १० पुस/     नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले निस्स्वार्थरूपमा पत्रकारितामा लाग्ने सञ्चारकर्मीले गलत क्रियाकलाप गर्ने जस्तोसुकै शक्तिलाई झुकाउन सक्छ भनेका छन्।     प्रेस युनियन बाराको पाँचौ साधारणसभाको उद्घाटन सत्रमा बोल्दै नेता केसीले देशमा प्रजातन्त्र आएको ६१ वर्ष बितिसक्दा पनि प्रजातन्त्र संस्थागत हुन नसकेको कारण देशको पत्रकारिता क्षेत्र जोखिममा रहेको बताए। अहिलेको परिस्थितिमा सबै दलहरू मिल्नुको विकल्प नरहेको भएपनि माओवादीले आफ्नो स्वार्थको लागि दलहरूबीच सामञ्जस्यता हुन नदिई देशमा अराजकता फैलाएको आरोप लगाएका थिए।     केसीका अनुसार ए. माओवादीसँग सरकार, लडाकू र बन्दुक तीनै शक्ति भएकोले उसले देशमा शान्ति र संविधान निमार्णमा बाधा खडा गर्दै आएको छ।     प्रेस युनियन बाराका अध्यक्ष रवीन्द्र सिंहको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा नेपाली काङ्ग्रेस बारा सभापति राधेचन्द यादवले पत्रकारिता पेशा जोखिमपूर्ण भएपनि बाराका सञ्चारकर्मीहरूलाई निर्धक्क भएर कलम चलाउन आग्रह गरेका थिए।     उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका महासचि

कलैयामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता

प्रस, कलैया, १० पुस/     जिल्ला खेलकुद विकास समिति, बारा एवं नगर खेलकुद विकास समितिको सहयोगमा बारा ब्याडमिन्टन सङ्घको आयोजनामा कलैयामा सञ्चालित बारा, पर्सा, मकवानपुर नकआउट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा एकलतर्फ रोमन विक्रम शाह विजयी भएका छन्। शाहले पुरुषोत्तम केसरीलाई सोझो सेटमा २४–२२ ,२१–१९ ले पराजित गरी बिजयी भएका हुन् । यसैगरी अर्काे खेलमा एकलतर्फ राजकिशोर साहले ज्वलन्त घिमिरेलाई सङ्र्घषपूर्ण सेटमा २१–१० ,१८–२१ ,११–२१ ले पराजित गरी विजयी भए।     एकलतर्फ नै भूपेन्द्र मल्लले जितेन्द्र यादवलाई सङ्घर्षपूर्ण सेटमा २१–१६, १६–२१, २१–४ ले पराजित गरे। त्यसैगरी युगलतर्फ विनोद साह र पुरुषोत्तम केसरीको जोडीले नरेन्द्र साह र प्रदिप साहको जोडीलाई सङ्घर्षपूर्ण सेटमा १७–२१, २१–१५, २१–११ ले पराजित गर्‍यो।

कमजोर विद्यार्थीप्रति शिक्षकको दायित्व

Image
अनन्तकुमार लाल दास     कक्षागतरूपमा जब कुनै विद्यार्थी पढाइमा पछि पर्न थाल्छ, ऊ कमजोर विद्यार्थी भनेर चिनिन्छ। यस्तो विद्यार्थीको शिक्षा, शिक्षकको विशेष ध्यानबेगर सम्भव हुँदैन। प्राय: के दखिएको छ भने शिक्षकहरू यसतर्फ ध्यान दिंदैनन्। परिणामत: त्यो विद्यार्थी झन्झन् कमजोर हुँदै जान्छ। हुनत प्रशिक्षण लिंदा यस्तो विद्यार्थीमाथि व्यक्तिगतरूपले ध्यान दिन पनि सिकाइन्छ तर विद्यालयको परिस्थिति, विद्यार्थीको सङ्ख्या र समाजद्वारा कर्तव्यपालनको भावनामा कमीले शिक्षकहरूलाई यसतर्फ ध्यान दिने अवसर नै प्रदान गर्दैन। यदि शिक्षकले यसतर्फ अलिकति विचार गर्दछ भने धरै विद्यार्थीलाई बिग्रनबाट बचाउन सकिन्छ। शिक्षकहरूको अल्प प्रयासले पनि आश्चर्यजनक परिणाम दिन सक्छ। एक पटक गरेको प्रयास र त्यसबाट प्राप्त सफलता यदि शिक्षकले महसुस गर्‍यो भने स्वयं ऊ प्रोत्साहित हुन्छ र यस्तो क्रियाकलापमा आनन्द तथा सन्तोष अनुभव गर्छ। यस आलेखमार्फत्  यही छलफल गर्न खोजिएको हो।     विद्यार्थीहरू पढाइमा किन पछाडि पर्दछन् ? वास्तवमा भन्ने हो भने जुन विद्यार्थी विद्यालयमा पढ्न जान्छन् उनीहरू मन्द बुद्धिका हुँदैनन् । मानसिकरूपले विकलाङग