Posts

Showing posts from September, 2011

सुरक्षा र नागरिक सुरक्षाबारे चेतना जगाउन नागरिक सुरक्षा दिवसको अवसरमा र्‍याली

Image
प्रस, कलैया, १२ असोज/     नागरिक सुरक्षा दिवसको अवसरमा बारा सदरमुकाम कलैयामा बिहीवार  बिहान जिल्लास्थित सुरक्षा निकायहरूले  जनचेतनामूलक र्‍याली निकालेका छन्। सदरमुकाम कलैयास्थित जिल्ला प्रहरी एवं प्रशासन कार्यालयको मूल गेटबाट सुरु भएको र्‍यालीले कलैया नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।             र्‍यालीमा सुरक्षा निकायका प्रमुखहरू, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विद्यार्थीहरूको सहभागिता थियो। नगर परिक्रमापश्चात् र्‍याली जिल्ला प्रशासन कार्यालय बारा पुगी सम्पन्न भएको थियो ।     र्‍यालीपश्चात् आयोजित कोणसभामा बाराका प्रमुख जिल्ला अधिकारी वसन्त कुमार उपाध्यायले व्यक्तिगत सुरक्षमको लागि सचेत बन्नुपर्नेमा जोड दिएका थिए । गृह मन्त्रालयको आयोजनामा सो र्‍याली सम्पन्न भएको हो।     त्यसैगरी आज पर्सा प्रहरीको पहलमा वीरगंजमा नागरिक सचेतना दिवस मनाएको छ। वीरगंजको घण्टाघरबाट निस्केको जुलुस नगरपरिक्रमापश्चात् पुन: सोही स्थानमा पुगेर समापन भएको थियो । जुलुसमा पर्साका प्रजिअ तारानाथ गौतम, प्रहरी उपरीक्षक रमेश खरेल, सशस्त्रका प्रहरी उपरीक्षक राम श्रेष्ठसमेत नेपाल प्रहरी, सशस्त्र,

जिल्ला प्रहरी कार्यालयमा दलाल निषेध

Image
उपेन्द्र यादव, बारा, १२ असोज/     यदि तपाईं जिल्ला प्रहरी कार्यालय, बारामा पीडितहरूसँग रकम लिएर मिलाउने कार्य गरिरहनुभएको छ भने होश गर्नुस्। जिप्रकाको मूल गेटमैं ठूलो ब्यानरमा ‘दलाल निषेध’ लेखिएको छ। यसले के सङकेत गर्छ भने तपाईंको दलाली पेशा प्रहरी कार्यालय, बाराभित्र अब चल्दैन।     पहिले जिप्रकाभित्र केही घूसखोर प्रहरी अधिकृतसँग दलालहरूको राम्रो साँठगाँठ भएको कारण जिप्रकाभित्र प्रहरी निरीक्षकहरूभन्दा बढी दलालहरूको कुरा लाग्ने गर्दथ्यो। जसले पीडित पक्षले न्याय पाउँदैनथ्यो भने अन्याय गर्नेहरू पैसाको भरमा कानुनी दायरामा आउँदैनथे ।     जिप्रका बाराका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले विगतका दिनमा केही प्रहरी अधिकृतहरूले प्रहरी कर्म र कर्तव्य भुली दलालहरूसँग साँठगाँठ गरेको भन्ने गुनासो आएको कारण बारा प्रहरी नै बदनाम हुने स्थितिमा पुगेकोले प्रहरी कार्यालयभित्र ‘दलाल निषेध’ लेखेको ब्यानर राख्न बाध्य भएको बताए ।

यमनको आन्दोलनले कुन दिशा लिने हो

विश्वराज अधिकारी     इजिप्टको  आन्दोलनबाट प्रभावित भएर फरवरी ११, २०११ मा यमनी जनताले त्यहाँको वर्तमान सरकारविरुद्ध सुरु गरेको आन्दोलन कुन दिशातर्फ उन्मुख हुन्छ भन्न सजिलो छैन। बरु उल्टो ३३ वर्षसम्म सत्तामा रहेका यमनका राष्ट्रपति अलि अब्दुल्लाह सालेहले त्यहाँ भइरहेको जन विद्रोहलाई आतङकवादी सङगठित आक्रमण हो, आतङकवादीहरू हिंसा मचाएर राज्यशक्ति आफ्नो हातमा लिन खोजिरहेका छन् र देशभित्र अस्थिरता पैदा गरेर मुलुकको सम्पत्ति लुट्न खोज्दैछन् भनी आरोप लगाइरहेका छन्। तीन महिना साउदी अरबियामा इलाज गराएर स्वदेश फर्केका राष्ट्रपति सालेह सत्ता हस्तान्तरण गर्न इच्छुक देखिएका छैनन्। कतिपयले त सालेह यमन फकिर्दैनन् भनी अडकलसमेत गरेका थिए।     अर्कोतिर भ्रष्टाचार र गरिबीको कारण बनेको सालेह शासन व्यवस्था जसरी पनि ढालेरै छाड्ने उद्देश्य बोकेर आन्दोलित यमनी जनता राष्ट्रपति सालेहलाई सत्तामा देख्न चाहिरहेको छैन र कुनै नयाँ किसिमको बहाना झिकेर सालेहले सत्तामा आफ्नो पकड झनै बलियो पार्ने हुन् कि भन्ने त्रास छ। हुनत यमनमा सत्ता हस्तान्तरण त्यति सजिलो छैन पनि। सालेहका पछाडि त्यस्ता धेरै स्वार्थी तत्त्वहरू छन् जो स

कूष्माण्डेति चतुर्थकम्

Image
उमाशङकर द्विवेदी     यस पालिको दशैं नवरात्रमा तृतीया तिथि क्षय देखिएकोले तेस्रो दिन गरिने चन्द्रघण्टा माताको पूजा द्वितीया तिथिमा नै सम्पन्न भयो। नवरात्रको तेस्रो दिन भगवतीको चौथौ रूप कुष्माण्डा देवीको पूजा हुनेछ। भगवती रहस्याध्यायमा स्पष्टरूपले के उल्लिखित छ भने जसलाई एक दिनमा सम्पूर्ण पाठ गर्ने अवसर मिलेन उसले एक दिनमा केवल मध्यम चरित्रको पाठ तथा अर्को दिन शेष दुई चरित्रको पाठ गरोस्। यस बाहेक, जसले प्रतिदिन नियमपूर्वक पाठ गर्दछ उसले एक दिनमा सम्पूर्ण पाठ गर्न नसकेको खण्डमा एक दुई, एक चार, दुई एक तथा एक र दुई अध्यायको क्रमले सात दिनमा पाठ पूर्ण गर्ने आदेश दिइएको छ।     प्रकृति तीन तत्त्वले बनेको छ। श्रीमद् देवीभागवत महापुराणमा उल्लेख भए अनुसार– प्रकृष्टवाचक: प्रश्च कृतिश्च सृष्टिवाचक:। सृष्टौ प्रकृष्टा या देवी प्रकृति: सा प्रकीर्तिता।। (द्दे. भा.९/५)     अर्थात ‘प्र’ अक्षर प्रकृष्टको वाचक हो तथा कृति भनेको सृष्टि हो। जुन देवी सृष्टि प्रक्रियामा प्रकृष्ट छिन् उनलाई नै प्रकृति भनिएको छ। ‘प्र’ अक्षर प्रकृष्ट सत्त्वगुण, ‘कृ’ अक्षर रजोगुण तथा ‘ति’ अक्षर तमोगुणको प्रतीक मानिन्छ। जुन देवी

किसानलाई मलको सङकट

शीतल महतो     यतिबेला मुलुकमा मल अभावको चर्चा शिखरमा रहेको छ। खेतीका लागि आवश्यक पर्ने मल सहजरूपमा पाउन नसकेपछि कृषि सामग्री कम्पनीको कार्यालय अगाडि किसानहरूको लामो लर्को जोकोहीले सहजै देख्न सक्छ। किसानले निर्धक्क साथ खेतीमा लाग्नुको साटो दिनहुँ मलका लागि भौतारिनुपरेको अवस्था छ। कृषि बालीका लागि आवश्यक पर्ने मुख्य समयमा विशेषत: मल पाइँदैन, पाइहाले पनि आवश्यकताभन्दा अत्यन्त न्यून र त्यो पनि लामो समयको पर्खनुपर्छ। कतिपय अवस्थामा लामो समयसम्म लाइनमा बसेर पनि अन्त्यमा आफ्नो पालोमा मल सकिएर रित्तो हात फर्कनुपरेको अवस्था किसानहरूले भोगिराखेका छन्। लामो पर्खाईपछि पनि मल नपाउँदा किसानहरूको आक्रोश शान्त पार्न मल त आएन, मलको सट्टा पर्साका किसानहरूले वीरगंजमा प्रहरीको लाठी र बुट अवश्य पाएको समाचार प्रकाशनमा आएको छ। मलको सट्टा किसानहरूमाथि लाठी र बुट बर्साउने प्रहरी दोषी त छँदैछ, त्यसमा पनि किसानहरूमाथि लाठी र बुट बर्साउने प्रहरीमाथि कुनै पनि किसिमको कारबाई नहुनुले किसानहरूप्रति राज्यको चरित्र उदाङगो भएको छ।     राजनीतिक दल र त्यसका नेताहरूलाई मत दिएर सत्ताको केन्द्रबिन्दुमा पुर्‍याउने किसानहरू

जनगणनाको परिणाम र वितिय संङ्घीयताको चुनौति

वीरेन्द्रप्रसाद यादव     अध्ययनहरूले के देखाएको छ भने सङ्घीय संरचनाबाट भरपुर फाइदा तब मात्र प्राप्त हुन्छ, जब सुदृढ सङ्घीय संरचनाका सबै सयन्त्र विद्यमान हुन्छ। स्थानीय निकायहरूलाई आफ्नो खर्च र करको स्तर तोक्ने पूर्ण अधिकार हुन्छ, देशहरूको सरकारी घाटा कुल सरकारी खर्चको तुलनामा कम हुन्छ । किनभने अन्तर्सरकारी अनुदान सीमितीकरण भएर स्थानीय सरकारको उत्तरदायित्व र अन्तर्सरकारहरूबीचको प्रतिस्पर्धा बढ्छ । जसले गर्दा स्थानीय सरकारी निकायहरू राम्रो परिणाम दिन्छन्।     उपरोक्त उपलब्धि हासिल गर्न विश्वका केही अभ्यासरत मुलुकले अवलम्बन गरेका वित्तीय सङ्घीयताका सिद्धान्तलाई मार्गदर्शनको रूपमा लिनुपर्छ। ती हुन्: परिपूरकता र भारवहनको सिद्धान्त:          यो सिद्धान्तअनुसार सम्भव भएसम्मका सरकारी कार्यहरू तल्लो तहबाट गरिनुपर्दछ भने आर्थिक विषयमा निर्णय गर्ने अधिकार त्यो समूहसँग हुन्छ जसले आर्थिक वित्तीय  भार वहन गर्दछ । भुक्तानी हस्तान्तरणको सिद्धान्त:         गरिब प्रदेशलाई  केन्द्र र अन्य धनी प्रदेशद्वारा सोझै भुक्तानी स्थानान्तरण  गर्न सकिन्छ। यसले आर्थिकरूपले कमजोर प्रान्तका नागरिकलाई पनि आधारभूत

अखाद्य वस्तु मिसावट युक्त जुस र मिठाइ बरामद

ई. गोपाल श्रेष्ठ     व्यवस्थापनमा अनुगमन तथा मूल्याङकनको भूमिका गहन हुन्छ। प्लानिङ साइकलमा अनुगमन तथा मूल्याङकन नै एउटा यस्तो अवस्था हो जसले स्टेण्डर्ड अनुसार अथवा सोचेअनुसार (प्लान) काम भइरहेको छ/छैन सोको यकिन गर्न सहयोग पुर्‍याउँछ। काम हुँदै गयो तर बीचमा अनुगमन तथा मूल्याङकन भएन भने कामको स्तर खस्कँदै जान्छ र अन्ततोगत्वा यसले सबै पक्षको साखलाई असर पारिदिन्छ। यसको प्रत्यक्ष उदाहरण हाल सरकारले गरेको बजार अनुगमनवाट प्राप्त परिणाम हो। अहिलेसम्म कसले सोचेको थियो र हाम्रो बजारमा यतिसम्म कालोबजारियाको कारोबार भइरहेको छ भनेर ? बजारमा तयारी अवस्थामा रहेको यतिसम्मको प्रदूषित र गुणस्तरहीन खाद्यान्न हामी उपभोग गरिरहेका छौं भनेर। अनि कसले सोचेको थियो कि तौलमा पनि हामी यति ठगिएका छौं भनेर ?     सरकारी अनुगमन संयन्त्रले पहिलेदेखि नै बराबर बजार अनुगमन कार्यलाई आफ्नो कर्तव्य ठानी निरन्तरता दिंदै आएको भए अवश्य पनि यो स्थिति आउने थिएन। साथै अनुगमन संयन्त्रलाई पनि सर्वोच्च निकायले अनुगमन कार्यमा निरन्तरता दिइरहेको छ/छैन भनी अनुगमन गरिदिएको भए पनि यो स्थिति आउने थिएन। सरकारले गुणस्तर सम्बन्धी अनुगमनको

अनाहकमा सम्झौता विरोध

श्रीमननारायण     संविधानसभा निर्वाचन परिणामले देशको राजनीतिक समीकरणमा नयाँ परिवर्तन ल्याएको यथार्थलाई हामीले बिर्सनुहुँदैन। जसरी वि.सं. २०४६ सालको जनान्दोलनले नेपाली काङ्ग्रेस र एमालेलगायत दलहरूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्‍यो त्यसरी नै एकीकृत माओवादीको दश बर्से सशस्त्र सङ्घर्ष र वि.सं २०६३ एवं  ०६३–०६४ को मधेस आन्दोलनले ए. माओवादी र नवमधेसवादी दलहरूलाई स्थापित गरेको छ। संविधानसभा निर्वाचन परिणामले नेपाली काङ्ग्रेस एवं नेकपा एमालेलाई दोस्रो एवं तेस्रो ठूलो दलको रूपमा स्थापित गरेको अवश्य पनि हो तर यो स्थान उनीहरूको निम्ति खस्किंदो जनाधारको सङकेत मान्नुपर्दछ।     मधेसवादी दल नयाँ राजनीतिक शक्तिको रूपमा स्थापित भएको हो। संविधानसभा निर्वाचन परिणाम आएलगत्तै ए. माओवादी र मधेसवादी मोर्चाको नेतृत्वमा सरकार गठन हुनुपर्दथ्यो तर त्यसो हुन सकेन। डेढ दशकसम्म संसद् र सत्ताको प्रमुख शक्तिको रूपमा स्थापित नेपाली काङ्ग्रेस र एमालेको भूमिका संविधानसभामा सहयोगीको र व्यवस्थापिका–संसद्मा रचनात्मक विपक्षको हुनुपर्दथ्यो। संविधानसभा निर्वाचन परिणामले एमाले र काङ्ग्रेसलाई प्रतिपक्षमा बस्ने जनादेश दिएको

विरोधको लाक्षणिक अर्थ

    विरोध समाजमा प्रचलनमा रहेको आस्था, मान्यता, कार्यप्रणालीविपरीत र कहिलेकाहीं मान्यताको विस्थापनका लागि गरिने मानवीय क्रिया हो। यो क्रिया स्वत:स्फूर्त हुन्छ र व्यक्तिविशेष अथवा समूहद्वारा स्वविवेकले गरिन्छ भने यसको उत्पादकता स्थिर र उपलब्धिमूलक हुन्छ। विरोधले समाजमा जीवन्तता कायम रहेको पनि देखाउँछ। यस दृष्टिकोणले नेपालमा जहाँतहीं विरोध भइरहेको, जुनसुकै आस्था र मान्यताको विरोधमा मानिसहरूले पहल गरिरहेको देख्दा यहाँजस्तो सक्रियता र रचनात्मकता कतै छैन भन्ने भान हुनु स्वाभाविक हुन्छ। तर दु:खको कुरो के छ भने यहाँ हुने विरोध अधिकांशत: कुनै बाठो व्यक्तिले आफूअनुकूल कुनै क्रियाकलाप भइरहेको छैन भने केही सोझा अथवा आफ्ना लहैलहैमा हिंड्ने मानिसलाई उचालेर गर्ने गरिन्छ।  कुनै वर्गविशेष, कुनै समूह अथवा सङगठनलाईभन्दा हुललाई उचालेर विरोध गराउने क्रियाकलाप नेपालमा बढी देखा पर्ने हुँदा यसको निष्फलता अनिवार्य देखिन्छ साथै विरोधमा व्यय भएको समय र परिश्रम पनि व्यर्थ हुन्छ। र अनाहक समाजमा विग्रह जन्मन्छ।     यस किसिमका विरोधहरूको सबभन्दा प्रस्ट उदाहरण विद्यालय व्यवस्थापन समितिहरूको निर्वाचन तथा गाविस सचिव

नौतन र भरवालिया क्रिकेट क्लब विजयी

प्रस, कलैया, १२ असोज/     परसौनी क्रिकेट क्लबको आयोजनामा बाराको परसौनीमा सञ्चालित सात दिवसीय नकआउट टी–२०  क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार  भएको खेलमा मनोकामना क्रिकेट क्लब नौतन विजयी भएको छ। नौतनले गोल्ड स्टार क्रिकेट क्लब गहवालाई चार विकेटले पराजित गरी विजयी भएको हो।     टस हारेर पहिले ब्याटिङ गरेको गोल्डस्टारले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय २० रन बनायो । प्रत्युत्तरमा मनोकामनाले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको थियो। नौतनको लागि जवाहर अंसारी ५६ रन र १ विकेट लिएबापत प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए। यसैगरी आजै भएको अर्काे खेलमा भरवलिया क्रिकेट क्लब विजयी भएको छ। भरवलिया फेटा क्रिकेट क्लबलाई ६४ रनको फराकिलो अन्तरले पराजित गरी विजयी भएको हो। टस जितेर पहिले ब्याटिङमा ओर्लेको भरवलियाले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । प्रत्युत्तरमा फेटा १५ ओभर ३ बलमा सबै विकेट गुमाई ९८ रनमैं समेटियो। प्रतियोगितामा २५ रन र ३ विकेट लिएबापत भरवलियाका योगेश दास म्यान अफ दि म्याच घोषित भए।

विद्यालयको स्तरोन्नति तथा भौतिक विकासका लागि ज्ञान महायज्ञको आयोजना, उपराष्ट्रपतिद्वारा उद्घाटन

Image
प्रस, वीरगंज, ११ असोज/     नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगंजको स्तरोन्नति तथा क्याम्पस सञ्चालनको लागि आजदेखि सुरु भएको श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको एक कार्यक्रमबीच उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरेका छन्।     वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलले आजदेखि असोज १८ गतेसम्म सञ्चालन गर्ने सो महायज्ञको उद्घाटन गर्दै उपराष्ट्रपति झाले धर्मको माध्यमबाट समाज परिवर्तन गरी देश निर्माण गर्नुपर्ने बताए।     उनले २०६२/०६३ को जनान्दोलनपछि देशमा लोकतन्त्र स्थापित भएर सर्वोत्कृष्ट संविधानसभा गठन भएपनि संविधान बनाउने जनाभिलाषा पूर्ण नहुँदा सबै दु:खित भएको बताए। उनले महायज्ञबाटै नेपालको नयाँ संविधान जारी होस् भन्ने कामनापनि गरे।     उद्घाटन समारोहमा वाचनप्रवीण पं. दीनबन्धु पोखरेलले क्रान्ति भनेको आन्दोलनमात्र नभएको चर्चा गर्दै क्रान्तिको माध्यमबाट समाजका विविध पक्षको परिवर्तन हुनुपर्ने बताए। उनले अध्यात्मबाट विकास सम्भव हुने तर्क राख्दै दिगो शान्ति र संविधान निर्माणको पक्षमा सबैलाई समाहित हुन आग्रह गरे ।     महायज्ञ मूल समारोह समितिका अध्यक्ष राजेन्द्रबहादुर

मीनाबजार निर्माणमा ढिलासुस्ती पुरानो संरचना भत्काउँदा निस्केको सामानमा अनियमितता

Image
    वीरगंज उपमहानगरपालिका कार्यालयले मीना बजारमा निर्माण गर्न लागेको आधुनिक बजार निर्माणको काममा ढिलासुस्ती र अनियमितता भएको छ।     आधुनिक बजारको निर्माणका लागि वीरगंज उपमहानगरपालिकाले दातृसंस्थाको सहयोगमा २ करोड ५६ लाखमा लगाएको ठेक्काले चार महिना पूरा हुन लाग्दासम्म कुनै गति लिएको छैन। ठेकेदार कम्पनी स्वचन्द्र, रामजानकी र रोशन निर्माण सेवाले ठेक्का लिएको ४ महिना बित्दापनि मीनाबजारको कामले गति नलिएको उपमहानगरपालिकाका इन्जिनियर प्रकाशमान अमात्य स्विकार्छन्। इन्जिनियर अमात्यले ठेकेदार कम्पनीको ढिलासुस्तीबारे अहिले कुराकानी भइरहेको बताए। उनले मीनाबजारका व्यापारीहरूले समयमा बजार खाली नगरेको, निर्माण कार्यमा ढिलाइ भएपछि पुन: बजार फर्केका कारण ढिला हुन गएको बताए।     वीरगंज उपमहानगरपालिका कार्यालयले मीनाबजार निर्माण कार्य सुचारु गर्न बजारका व्यापारीहरूलाई विपी उद्यानमा सारेर पुरानो भौतिक संरचना भत्काई नयाँ बजारको लागि सेडहरू निर्माण सम्पन्न नगरेको होइन । तर विपी उद्यानमा निर्मित सेडहरू अहिले सात महिना बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन। मीनाबजारमा सेड निर्माण कार्य सम्पन्न गरेको वीउमनप

नेशनल मेडिकल कलेजले १५ करोड कर तिर्न बाँकी कर उठाउन वीउमनपाले पहल गरेन

Image
सुषमा शर्मा, वीरगंज, १० असोज/     “नगरपालिकाले कलेजको नक्सा पास गरोस् कर तिरिदिन्छौं”– नेशनल मेडिकलका फाइनान्स प्रमुख योगेन्द्र यादव बताउँछन्। उनलाई नक्सा पास भएको भवनको कर किन नतिरेको भनी सोध्दा उक्त भवन पहिले अरूले बनाएको थियो, एक वर्ष भयो मेडिकलको नाममा रजिस्ट्रेसन पास भएको।     वीरगंज उपमहानगपालिकाले असुल गर्नुपर्ने कर प्रशस्तै बाँकी छन् तर नगरपालिका भने असुल्नतिर ढिलासुस्ती गर्दैछ। नगरपालिका राजस्व शाखाका प्रमुख शान्त बस्नेतका अनुसार ससाना व्यापारीको कुरै छोडौं ठूल्ठूला व्यापारीले कर तिरेका छैनन्। नेशनल मेडिकल कलेज, नीना कम्प्लेक्स, पमपम बिल्डिङक, ग्लोबल बैंक, किष्ट बैंक, माछापुच्छ्रे बैंकजस्ताले पनि कर बुझाएका छैनन्। नियमले व्यवस्था गरे अनुसार कर बुझाउन पत्र पठाए तापनि कोही कर बुझाउन आएको छैन।     नेशनल मेडिकल कलेजले १५ करोड कर नतिर्दा पनि किन नगरपालिकाले केही गर्न नसकेको भनी सोध्दा हामी बारम्बार चिठ्ठी पठाउँछौं तर कसैले गम्भीररूपमा लिएको छैन, हामीलाई प्रशासनको सहयोग छैन।     त्यस्तै बैंकका एक कर्मचारीलाई सो सम्बन्धमा सोध्दा उनले–“हामीलाई पत्र आएको छैन, पत्र आउला र कर तिर्न ज

द्वितीयं ब्रह्मचारिणी

Image
उमाशङकर द्विवेदी     दशैंकोठामा प्रथम दिन विधिपूर्वक घटस्थापना गरिसके पछि शैलपुत्रीको पूजा गरिन्छ भने दोस्रो दिन भगवतीको ब्रह्मचारिणी रूपको पूजा–आराधना गरी मनाइन्छ। यस वर्ष आश्विन महिनाको शुक्ल पक्षको तृतीया तिथिको क्षय भएको हुनाले तृतिया तिथिका दिन पूजा गरिने चन्द्रघण्टा माताको पूजा पनि द्वितीया तिथिकै दिन मनाइने छ । पूजास्थानमा श्री दुर्गासप्तशतीको पाठ गरिन्छ। श्री दुर्गा सप्तशती संस्कृत भाषामा विभिन्न ऋचा, स्तोत्र, मन्त्र तथा कथाको रूपमा रहेको पाइन्छ। श्री दुर्गा सप्तशतीमा सप्तश्लोकी दुर्गा, श्री दुर्गाष्टोत्तरशतनामस्तोत्रम्, देवि कवच, अर्गलास्तोत्र, कीलक, वेदोक्त रात्रिसूक्त, तन्त्रोक्त रात्रिसूक्त,श्रीदेव्यथर्वशीर्षम् नवार्णविधि तथा सप्तशती न्यासको पाठ दुर्गा पाठको पूर्वाङकको रूपमा गरिन्छ। त्यस पछि वास्तविक पाठ सुरु हुन्छ। मुख्य पाठमा जम्मा तेर्‍ह अध्याय छन्। ती अध्यायहरूलाई भगवतीको तीन चरित्रमा विभाजन गरिएको छ। प्रथम चरित्रको पाठ महाकालीको आराधना तथा उनको प्रसन्नताको लागि गरिन्छ। यसमा प्रथम अध्यायको मात्र पाठ हुन्छ जसमा मार्कण्डेय ऋषिले सूर्यपुत्र सावर्णि भगवतीको अनुग्रहले कस

कुन बाटो जाँँदैछ नेपालको पत्रकारिता

    देश अनिश्चतताको भुमरिमा फसेकोमा जत्ति दोषी राजनीतिकर्मी छन् सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पनि दोष उत्तिकै देखिन्छ। जनान्दोलनको उपलब्धि संस्थागत गर्न संविधान निमार्णको साटो राजनीतिक दलहरू सत्ता केन्द्रित राजनीतिमा रुमलिरहेका छन्।  यस्तो अवस्थामा मिडियाले  समन्वयकारी र पहलकर्ताको भूमिका खेलेको खण्डमा देश दुर्घटनाबाट जोगिन सक्छ। तर विडम्बना यहाँ पत्रकारिता कसैको लागि मागीखाने भाँडो तथा कसैको लागि भातको जोहोभन्दा बढी हुन सकेको छैन । समस्याको जरो राज्य सञ्चालन तहमा देखिन्छ। राज्यले कुनै पेशा, सेवा वा व्यवसाय सञ्चालनको निम्ति स्वीकृति, प्रमाणपत्र वा शैक्षिक योग्यताको मापदण्ड तोकेको छ तर अपवादमा पत्रकारिता पेशा पर्दछ।     गाडी चलाउनका लागि लाइसेन्स चाहिन्छ तर लाखौं मानिसलाई सुसूचित गर्ने अधिकार पाएको पत्रकारका लागि कुनै प्रमाणपत्र वा शैक्षिक योग्यता आवश्यक पर्दैन। यसैले गर्दा पत्रिकामा आक्कल–झुक्कल कलम चलाएर वा प्रकाशकलाई शराब, शबाब र कबाबले वशमा पारी पत्रकार परिचय बनाई पत्रकारितालाई भजाएर खान पल्केकाहरूको जमात बर्खायामको च्याउझैं बढिरहेको छ। यस्ता विकृति मौलाउनुमा पत्रकार महासङ्घ

प्राविधिकहरूको अनौठो संयोग

सञ्जय साह ‘मित्र’     केन्द्रमा एउटा अनौठो संयोग देखिएको छ। यस्तो संयोग बिरलै पाइन्छ । केन्द्रको राजनीतिमा विविध पक्षका विशिष्ट, विज्ञ तथा विशेषज्ञहरू हुनु संयोगले मात्रै भए पनि निकै सकारात्मक कुरो भएको छ। विविध पक्षबाट विश्लेषण गर्न र राष्ट्रलाई सुन्दर बनाउन पनि संयोग मिल्न सके अझ राम्रो। देशको सर्वोच्च पद राष्ट्रपतिमा डाक्टरसाहेब हुनुहुन्छ। जनकपुरका एक मित्रका अनुसार उहाँ आफ्नो क्षेत्रमा विशिष्ट चिकित्सकका रूपमा प्रसिद्ध हुनुहुन्छ। वरिष्ठ एवं विशिष्ट चिकित्सकका रूपमा ख्याति कमाउनुभएका व्यक्ति देशको सर्वोच्च पदमा पुग्नु आफैंमा सुन्दर घटना हो। यसबाट स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश जाने आशा गर्न सकिन्छ।     उपराष्ट्रपति पदमा रहनुभएका परमानन्द झा कानुनका जानकार हुनुहुन्छ । विगतमा पुनरावेदन अदालतका मुख्य  न्यायाधीशसम्म हुनुभएका झाको विद्वताबाट पनि यस राष्ट्रले धेरै फाइदा लिन सक्छ। नेपालमा राष्ट्रपति तथा उपराष्ट्रपति आलङ्कारिक पद हुन्। आलङ्कारिक पदको सम्मान धेरै हुन्छ । राष्ट्रप्रमुख तथा उपराष्ट्रप्रमुखप्रति नेपाली नागरिकको ठूलो सम्मान छ। अत्यन्त सम्मान तथा श्रद्धाका पात्रका रूपमा स

राज्य दुविधामा नपरोस्

    राज्य नै दुविधामा पर्नु भनेको राज्य नहुनु हो। देशमा फौजदारी अभियोग सम्बन्धी यावत् कानुन छ, त्यसबाहेक अन्तर्राष्ट्रिय कानुनहरू पनि छन्, जसको पक्ष राष्ट्र रहेको नाताले नेपालले ती कानुनहरूको अवहेलना गर्नै सक्दैन। फौजदारी मुद्दाले स्वदेशी कानुनलाई उछिन्ने प्रयास गरेको छ भने पनि अन्तर्राष्ट्रिय कानुनले राज्यलाई बाध्य पार्न सक्छ। त्यसर्थ फौजदारी मुद्दामा देशले विगतदेखि गर्दै आएको हेलचेक्रयाइँले एक दिन मुलुकलाई नै अबगालमा नपार्ला भन्न सकिन्न। अहिले नेपालमा जति पनि काम–कारबाईहरू भइरहेका छन्, जति पनि सरकारहरू बनिरहेका छन् सबले विभिन्न फौजदारी मुद्दाबाट अभियोगीलाई उन्मुक्ति दिएका र सबमा कोही न कोही फौजदारीमा आरोपित व्यक्तिहरू मन्त्री बनेका देखिएको छ। के नेपाली काङ्ग्रेसको सरकार, के राप्रपा र के एमाले अथवा ए. नेकपा माओवादी सबैले आफूले नेतृत्व गरेको सरकारको पालामा फौजदारी मुद्दा लागेका आफ्ना कार्यकर्तालाई उन्मुक्त गराएर कानुनको अवमानना गरेका छन्। हिजो झलनाथको सरकारमा मन्त्री रहेका ए. नेकपा माओवादीका अग्नि सापकोटामाथि फौजदारी अभियोग लागेको थियो भने अहिले उही पार्टीका मन्त्री प्रभु साहमाथि वीर

पाठक प्रतिक्रिया

श्रीमान सम्पादकज्यू प्रतीक दैनिक, बीरगंज     मलाई मनपर्ने पत्रिकाहरूमध्ये प्रतीक दैनिक पनि एक हो। म नियमित विद्यालयको पुस्तकालयमा गई प्रतीक पढ्ने गर्छु। सत्याग्रह संस्थाले यस विद्यालयलाई विभिन्न पत्रपत्रिका सहयोग स्वरूप उपलब्ध गराइदिएकोमा तपाईंको पत्रिकामार्फत् सत्याग्रहलाई धन्यवाद पनि भन्न चाहन्छु। तपाईंको पत्रिकामार्फत् सामाजिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुराहरूको जानकारी पाउन सहज भएको छ।       हाम्रो देश नेपाल विकासोन्मुख देश हो। विकासतिर उन्मुख हुँदाहुँदै पनि पूर्णरूपले विकसित हुन सकेको छैन। हाम्रो देशको सामाजिक अवस्था धेरै नै कष्टदायी छ। समाजमा रहेका विभिन्न कुरीति– बालविवाह, महिला हिंसा, दाइजोप्रथा, चेलीबेटी बेचबिखनजस्ता अनैतिक कार्य अहिलेसम्म हाम्रो समाजमा विद्यमान छ। यतिमात्र होइन महिलाहरूलाई नराम्रो दृष्टिकोणले हेर्ने मानिसहरू पनि समाजमा कम छैनन्। महिलामाथि बोक्सीको आरोप लगाउने, दाइजोका कारण महिलाहरूलाई कुटपीट गर्ने, जलाउने, ज्यान मार्नेजस्ता अशोभनीय कार्य समाजमा भइरहेकै छ ।     यस कारण म हाम्रो राष्ट्रलाई सुधार्नुभन्दा अगाडि समाजका मानिसहरूलाई शिक्षित तथा तिनीहरूमा चेतन

युथ अवेयरनेस क्रिकेट क्लब वीरगंज विजयी

प्रस, कलैया, ११ असोज/     परसौनी क्रिकेट क्लबको आयोजनामा बारा, परसौनीमा सञ्चालित सात दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा युथ अवेयरनेस क्रिकेट क्लब वीरगंज विजयी भएको छ । वीरगंजले स्टार क्रिकेट क्लब फेटालाई १ विकेटले पराजित गरी विजयी भएको हो।     टस हारेर पहिले ब्याटिङमा ओर्लेको फेटाले १९ ओभर १ बलमा सबै विकेट गुमाएर ७० रन बनायो। प्रत्युत्तरमा वीरगंजले १९ ओभर १ बलमा ९ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो। प्रतियोगितामा ९ रन र ३ विकेटको योगदान दिएबापत वीरगंजका सलमान हवारी म्यान अफ दि म्याच घोषित भए ।

तिवारी हत्याकाण्डमा अभियुक्तविरुद्ध अनुसन्धान निम्ति ६ दिने म्याद थप

Image
विपी यादव, वीरगंज, १० असोज/     हिन्दू युवा सङ्घका अध्यक्ष काशी तिवारीको हत्या आरोपमा रोहित भन्ने अमन कुशवाहालाई अनुसन्धान निम्ति पहिलोपटक हिरासतमा राख्न ६ दिनको म्याद दिइएको जिल्ला सरकारी वकिल कार्यालयका नायबसुब्बा वृषबहादुर थापाले बताए।     आरोपित कुशवाहालाई यसअघि सार्वजनिक अपराधमा मुद्दा दर्ता भएको थियो जसमा जिल्ला प्रशासन कार्यालय पर्साले साधारण तारिखमा छोड्न आदेश दिएको थापाले बताए।     सार्वजनिक मुद्दाको अभियोगमा साधारण तारिखमा छोड्ने आदेश भएपछि काशी हत्याकाण्डमा कुशवाहालाई जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको थियो। जिल्ला सरकारी वकिल कार्यालय पर्साले थप अनुसन्धान गर्न ६ बुँदे निर्देशात्मक रायसहित जिल्ला प्रहरी कार्यालयमा मिसिल पठाएको सरकारी वकिल कार्यालयले बताएको छ। त्यसपछि थप अनुसन्धान निम्ति अभियुक्तलाई हिरासतमा राख्न म्याद माग्दा अदालतले ६ दिनको म्याद थप गरेको बताइएको छ। प्रहरीको अनुसन्धान कागजको आधारमा अदालतले पटक–पटक गरी २५ दिनसम्म म्याद थप गर्न सक्ने कानुनी प्रावधान छ।     २०६७ असार १२ मा अशोक वाटिकास्थित शिव–पार्वती मन्दिरमा तिवारीको गोली हानी हत्या भएको थियो।

पर्यटन दिवसमा विशेष कार्यक्रम

Image
प्रस, वीरगंज, १० असोज/     पर्यटन कार्यालय पर्साले ३२ औं विश्व पर्यटन दिवस २०११ को अवसरमा विशेष समारोह सम्पन्न गरेको छ। शङकराचार्य प्रवेशद्वारमा सो कार्यक्रम आयोजना भएको थियो। तेस्रो मुलुकबाट आउने तीनजना विदेशीलाई सो अवसरमा फूलमाला लगाई प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले स्वागत गरेका थिए।         तेस्रो मुलुकबाट आउने विदेशी पर्यटकहरूमध्ये लुइस आर्म स्ट्राङग (अस्ट्रेलिया), मेरी इलेन सेलेन (क्यानाडा) र इ. रहमान भारतीय रहेका छन्। उनीहरू भारतको बाटो प्रयोग गरी आज नेपाल भित्रिएका थिए। सिम्रौनगढ क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष श्यामकिशोर यादवको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारी, पर्यटन कार्यालयका प्रमुख ए.के. नारायण शर्मा, प्रहरी नायब निरीक्षक दिवेश लोहनी, समाजसेवी पशुपति विक्रम राणा तथा उषा शाह राणाको कार्यक्रममा सहभागिता थियो। विश्व पर्यटन दिवसको अवसरमा सम्झना होटलले विदेशी नागरिकलाई निश्शुल्क खाने र बस्ने व्यवस्था गरेको थियो।

प्रथमं शैलपुत्री

Image
उमाशङकर द्विवेदी     नेपालको राष्ट्रिय चाड दशैं साधारण चाड नभई ठूलो धार्मिक अनुष्ठान हो। शक्तिपूजाको प्रयोजनको लागि घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवरात्र व्रत बस्ने धार्मिक विश्वास भएका मनिसहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ। नौ दिनसम्म नवरात्र व्रत बस्न किन आवश्यक छ भने शक्ति स्वरूपा दुर्गा माताका नौवटा रूपहरू मार्कण्डेय पुराणमा वर्णित छ। जस अनुसार (प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।। पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च। सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।। नवमं सिद्धिदात्री च नव दुर्गा प्रकीर्तिता:। नवरात्रको पहिलो दिन भगवतीको शैलपुत्री रूपको अराधना हुन्छ  भने दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा , चौथो दिन कुष्माण्डा,पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी, तथा नवौ दिन सिद्धिदात्रीको रूपको आराधना हुन्छ। नौ दिनमा भगवतीको नौवटा रूपहरूको आराधना गर्नुपर्ने भएको हुनाले नै नौ दिनको नवरात्र व्रतको सङकल्प हुने गर्दछ।     शक्तिपूजा गर्ने व्रतालुहरूले घटस्थापनाको दिन बिहानै नित्य

डा.भट्टराईले शान्ति र संविधान दिएर मुलुकलाई जोगाउन सक्लान ?

– उदय पन्दाक (लिम्वू)     यति वेला मुलुक दोबाटोमा उभिएको छ। पहिलो स्थायी शान्ति र संविधानको, अर्को कहिल्यै शान्ति नहुने गरी गृहयुद्धमा फस्ने बाटो। यसै बेला मुलुकमा विचारक भनिएका र जनताका सर्वाधिक प्रिय मानिएका नेता डा. बाबुराम भट्टराईले मुलुकको नेतृत्व सम्हालेका छन्। यो ऐतिहासिक आवश्यकताको सरकारको नेतृत्व गर्न पाउनु उनको सौभाग्य पनि हो। उनी मलुकको सबैभन्दा ठूलो पार्टीको नेता पनि हुन्। उनले पहिलो बाटो भएर हिड्न सकेमा मूलुकले स्थायी शान्ति र संविधान पाउन सक्छ। यो सर्वाधिक जन कल्याण र आवश्यकताको बाटो हो। यही बाटोले देशलाई नयाँ जीवन दिन सक्छ भने नेपाल र नेपालीको भविष्य उज्यालो पार्नुका साथै नेपाली जनतालाई सधै सार्वभौमसम्पन्न बनाइराख्न सक्छ। तर उनलाई पहिलो बाटो भएर मुलुकलाई नेतृत्व दिन त्यति सजिलो देखिदैन। संसदीय इतिहासमा पहिलोपल्ट प्रतिपक्ष नरम देखिएको बेला प्रधानमन्त्री, आफ्नै पार्टीको एउटा बलियो खेमाले प्रतिपक्षीको रूपमा डटेर विरोध गरिरहेको अवस्था झेल्नुपरेको छ।     यस खेमाको नेतृत्व अर्का उपाध्यक्ष मोहन वैद्यले गरिरहेका छन्। वैद्य पार्टी या सत्ता दुवैको नेतृत्व गर्न नसक्ने तर नेतृत्वप

राम्रो निद्राको लागि असल छिमेक जरूरी

विनोद गुप्ता     केही दिन अगाडि भारतीय पत्रपत्रिकाहरूमा चीनले भारतको सम्पूर्ण भागलाई ३० मिनेटभित्र प्रहार गर्ने क्षमताको आणविक क्षेप्यास्त्र विकास गर्नुको साथै स्टिल्थ स्पेसक्राफ्ट र अत्याधुनिक युद्ध सामग्री निर्माणमा व्यस्त रहेको समाचारका साथै कूटनैतिकरूपमा भारतलगायत छिमेकी राष्ट्रहरूलाई घेर्ने प्रयास गरेको कुरा प्रकाशमा आएको थियो। केही दिन अगाडि भारतीय न्यूज चैनलहरूले गङगा नदीको बहावलाई नै रोक्न प्रयासरत रहेको समाचारलाई प्रमुखता दिएको पनि सर्वविदित नै छ। यस राजनैतिक खेलकै क्रममा दुईवटा थप महत्त्वपूर्ण समाचारहरू आएका छन्। १८ सेप्टेम्बर २०११ को कान्तिपुरमा ‘त्रिदेशीय समझदारीको चिनियाँ प्रस्ताव’ शीर्षकमा प्रकाशित समाचारलाई चिनियाँ विदेश विभागका उपमन्त्री आई पीङले ‘नेपालको जलस्रोत विकासका लागि तीनवटै पक्ष बसेर कुनै प्रबन्ध मिलाउन सक्छौं कि भन्नेबारे भारतीय राजदूतसँग र बिहारका मुख्यमन्त्रीसँगसमेत कुराकानी भएको कुरा आएको छ। नेपालका अधिकांश विद्युत् आयोजनाहरू पहाडमैं छन् र ती भारतीय कम्पनीहरूसित रहेको परिप्रेक्ष्यमा पहिला माओवादीहरूले योजना निर्माण गर्न बाधा पुर्‍याउनु र त्यसपछि यस्तो चिन

आफ्नो गल्तीको सजाय सेवाग्राहीलाई किन ?

    सरकारले हस्तलिखित राहदानी विस्थापित गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेको छ। राहदानी अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनका लागि एमआरपी सुरु गरिएको हो। कुनै पनि मुलुकको पहिचान दिने सङकेतमध्ये मुद्रा र राहदानी महत्त्वपूर्ण मानिन्छ। नागरिकले कारोबारमा ल्याइरहेको मुद्रा र राहदानीले त्यस मुलुकको स्तर निर्धारण गरेको हुन्छ। आफ्नो मुलुकको मुद्रा तथा राहदानी विदेशी मुलुकका नागरिक समक्ष देखाउँदा पनि लाज तथा सङकोचले खुम्चनुपर्ने अवस्था नआओस्  भन्ने चाहना नागरिकको हुन्छ। अधिकांश मुलुकका सरकारको ध्येय पनि त्यही हुन्छ। हाम्रो मुलुकमा हस्तलिखित राहदानी रहँदा नेपाली नगारिकले राहदानीकै कारण अपमानबोध गर्नुपरेको घटनाहरू भएका छन्। त्यसैगरी हातले लेखेको अक्षर अलिकता केरमेट वा सानो–ठूलो तथा अस्पष्ट हुँदा आधा बाटोबाट फर्कनु पर्ने अवस्था पनि विगतमा सृजना भएका छन्। एमआरपी सुरु भएपछि ती समस्याहरूबाट मुक्त भइन्छ भन्ने मुलुकवासीको धारणा थियो।     मुलुकमा एमआरपी वितरण भएको एक वर्षको अवधि बितिसकेको छ। तर एमआरपी पाउनु नै अहिले समस्या बनेको छ। सुरुका केही महिना जिल्ला प्रशासनले सिफारिस पठाउने र राजधानी

प्राविधिक शिक्षातर्फ जनजागरूकता जगाउन महावाणिज्य दूतावासद्वारा आइटेक दिवसको आयोजना

Image
प्रस, वीरगंज, ९ असोज/     भारतीय महावाणिज्य दूतावास वीरगंजले आज स्थानीय होटल भीस्वामा भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आइटेक) दिवस मनायो।     भारतमा सञ्चालित विभिन्न प्रविधि–ज्ञानका लागि अन्य मुलुकका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले भारतले तीनवटा शैक्षिक कार्यक्रम  आइटेक, स्क्याप र टिसिएस कोलम्बो प्लान सञ्चालन गर्दै आएको छ।     भारतमा आइटेक योजना आरम्भ भएको दिवसको रूपमा आज यस भेगका नेपाली नागरिकलाई भारतीय प्राविधिक शिक्षाबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको बताइएको थियो ।     दूतावासका कन्सुल शशिकुमारले आइटेकबारे विस्तृत विवरण प्रदान गरेका थिए भने महावाणिज्यदूत आशुतोष अग्रवालले भारतले नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र प्राविधिक ज्ञानको पर्याप्तता नागरिकस्तरसम्म पुगोस् भनेर यो जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको बताएका थिए। सो अवसरमा भारतका विभिन्न प्राविधिक शिक्षा केन्द्रहरूमा अध्ययन गरेका शालिकराम पौडेल सिनियर डिभिजनल इन्जिनियर, डिल्लीराज लेखक शाखा प्रबन्धक सिद्धार्थ बैंक वीरगंज, सञ्जय महतो, नेरेसो चितवन तथा हरिनारायणप्रसाद साह, फिल्ड कोअर्

भारतीय बाँधका कारण गौरमा डुबान खाद्यान्न र ग्याँसको अभावमा भोकै बस्न बाध्य

प्रस, रौतहट, ९ असोज/     गए रातिदेखिको अविरल वर्षाका कारण सदरमुकाम गौर डुबानमा परेको छ। सदरमुकाम गौरको हरेक सडकमा पानी जम्मेको कारण आवतजावतसमेत बन्द भएको छ। पानीको निकास नभएकोले सदरमुकाम डुबानमा परेको हो। सदीयौंदेखि गौरबाट दक्षिण भारत तर्फ बग्दै गरेको पानी रोक्न भारत सरकारले तटबन्ध गरेकोले पानीको निकास बन्द भएको नागरिक समाजका अध्यक्ष जगन्ननाथप्रसाद केसरीले बताए । तटबन्धको सटर सधैं बन्द रहँदा भारतीय तटबन्ध भत्कने अवस्थामा पुगेको हिन्दुस्तान दैनिकका संवादताता मनोज प्रेरणाले बताए। तटबन्ध भत्कने डरले भारतीय नागरिक चिन्तित बनेका उनले बताए।     आवतजावत बन्द भएकोले  खाद्यान्नको अभाव भएको छ र कैयौं घरमा भोकै बस्ने अवस्था आएको आइपिएम समाजका अध्यक्ष लालबाबु चौधरीले बताए। खाद्यान्नभन्दा खाना पकाउने ग्याँसको अभाव टडकारो देखिएको महादेवपट्टी टोलवासीको कथन छ। खाद्यान्न सामग्री र राहतको व्यवस्था अविलम्ब गर्नुपर्ने एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी उपेन्द्र साहले सम्बन्धित निकायसँग माग गरेका छन्।

क्योकुसिनमा पर्सेली खेलाडी विजयी

प्रस, वीरगंज, ९ असोज/     प्रथम राष्ट्रव्यापी नेपाल सिन क्योकुसिन कराँते सङ्घद्वारा ललितपुरमा आयोजित प्रतियोगितामा वीरगंज डोजोका खेलाडी संदिप पटेल ६५ केजी तौल समूहमा प्रथम भएका छन्। मुलुक भरका २०५ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा वीरगंजकै नरेश पटेलले तृतीय स्थान हासिल गरेका छन्।     नेपाल क्योकुसिन कराँते सङ्घका केन्द्रीय सदस्य तथा पर्सा अध्यक्ष राजकुमार महतोको नेतृत्वमा रहेका ८ जना पर्सेली खेलाडीहरूमध्ये दुईजनाले मात्र पदक हात पारेका हुन्। विजयी खेलाडीको सम्मानमा आज सङ्घले कार्यक्रम सम्पन्न गरेको छ।

रहरी र दूरसञ्चार कार्यालयको कुरा मिल्यो कल बाइपासको मुद्दा डिसमिस, अभियुक्त उन्मुक्त

आरके पटेल, वीरगंज, ८ असोज/     भिओआइपी प्रविधिद्वारा कल बाइपास गरी लाखौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका दूरसञ्चारका इन्जिनियरसहित भारतीय नागरिकलाई प्रहरीले मुक्त गरेको छ। प्रहरीले नेपाल दूरसञ्चार शाखा कार्यालय, वीरगंजका सहायक इन्जिनियर देवधारी महतो र भारत दिल्ली मण्डोलिया थाना एस बिहार निवासी गुलजार आलमलाई पक्राउ गरेको थियो । इन्जिनियर महतोको मिलोमतोमा ९८५५०२६३६६ र ९७५५००१५६१ नम्बरको मोबाइल भारतीय नागरिक आलमले प्राप्त गरेका थिए। आलमलाई ती दुई सीम प्रयोग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। मनहर्वा गाविस–५ निवासी शिवपूजन गिरीको नागरिकता र रौतहट औरहिया निवासी दिपु श्रीवास्तवको फोटो राखेर उक्त सीम निकालेको र सो कार्यमा इन्जिनियर महतोले सिफारिस गरेको दूरसञ्चारको स्रेस्तामा उल्लेख छ।     प्रहरीले पक्राउ गरेको इन्जिनियर महतो र भारतीय नागरिकलाई दुई दिनपछि अनुसन्धान पूरा भएको भन्दै मुक्त गरिएको हो। आलमले प्रयोग गरेको मोबाइलमा अकस्मात ४० हजारको बिल उठेपछि भीओआइपी कल बाइपासको शङकामा पक्राउ गरिएको थियो।     दूरसञ्चार कार्यालयमा कार्यरत एक प्राविधिकका अनुसार कल बाइपास गरी

शान्ति र संविधानको सङकटपूर्ण अवस्थामा एमाले–काङ्ग्रेसको भूमिका

अधिवक्ता वीरेन्द्र प्रसाद यादव     माओवादीको पहिलो सरकार खसेपछि पुन: प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि एक वर्षसम्म अथक प्रयास भयो तर प्रचण्ड नेतृत्वको सरकार बन्ने सङकेत आएन, बरु डा.बाबुराम भट्टराईको नेतृत्व स्वीकार हुने आशय बेलाबखत  व्यक्त भयो। तत्कालीन अवस्थामा माओवादी पार्टीभित्रबाट डा. भट्टराईलाई प्रम निमित्त समर्थन थिएन। माओवादीको धोबीघाटको बैठकले भट्टराईलाई प्रम बनाउने सर्वसम्मत निर्णय गरेपछि मात्र भट्टराईको प्रमको मार्ग सहज भयो। पार्टीको सर्वसम्मत निर्णयको पालन र कार्यान्वयन सबैको कर्तव्य हो तर वैध पक्षले सो कुरा बिस्र्यो । धोबीघाटको भट्टराईलाई प्रम बनाउने सर्वसम्मत निर्णय र भदौ ११ गते वैद्य–गजुरेल सहितको पदाधिकारी बैठकको निणर्यले पारित गरेको चार बुँदे सहमतिको चर्को विरोध वैद्य पक्षले गरेको छ। वैद्य पक्षको वर्तमान विरोधले चौतर्फी प्रतिकूलता निम्त्याउने काम गरेको छ। आफ्नै पार्टीको निर्णयको विरोध गर्दा दलीय राजनीति अस्वस्थ त हुन्छ नै दललाई विभाजनको सँघारमा पनि पुर्‍याउँछ। दलको नीति तथा उद्देश्य ओझेलमा पर्छ भने व्यक्तिगत स्वार्थले प्राथमिकता पाउँछ। आफ्नै पार्टीको सरकारको विरोधल

पितृपक्ष मेला र गया श्राद्ध

Image
उमाशङकर द्विवेदी     एष्टव्या बहव: पुत्र यद्येकोऽपि गयां व्रजेत –  धेरै पुत्रहरूको आशा मानिसले यस कारणले गर्दछ कि तीमध्येबाट कोही एकले पनि पितृको सद्गतिका लागि गया तीर्थ जाओस्। आश्विन महिनाको कृष्ण पक्षलाई पितृपक्ष भन्दछन्। यस महिनामा नेपालमा सोर्‍ह श्राद्ध गर्ने चलन छ भने भारतको झारखण्ड राज्यमा अवस्थित गया भन्ने ठाँउमा विश्वभरिका हिन्दू धर्मावलम्बीहरूको लागि पितृपक्ष मेला लाग्ने गर्दछ। यस मेलामा भारत–नेपालका हिन्दूहरू मात्र होइन, विश्वभरिकै हिन्दू धमोवलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। गया तीर्थमा गयासुरको शिरमाथि पिण्डदान गर्दा पितृहरू मुक्त हुन्छन् भन्ने धार्मिक विश्वास गरिन्छ।     गया तीर्थ निकटवर्ती रेलवे स्टेशन (रक्सौल) बाट २६४ कि.मि. दक्षिण पश्चिम दिशामा पवित्र फल्गु नदीको किनारमा अवस्थित छ। गया तीर्थ गयासुर राक्षसको शरीरमाथि अवस्थित रहेको जनश्रुति छ। त्यसअनुसार एक कोसको क्षेत्रलाई गया राक्षसको शिर मानिन्छ भने पाँच कोससम्म गयासुरको शरीर मानिन्छ। यसै क्षेत्रको मध्यमा प्रख्यात ३१ वटा तीर्थहरू छन्। जसमध्ये विष्णु पद, फल्गु नदीको तिर, प्रेतशिला, रामशिला, अक्षयवट, काकबली, श्वान बली,