प्रस, कलैया, ३१ वैशाख/
विद्युत् चुहावट नियन्त्रण गर्न गएको विद्युत् कर्मचारी एवं सुरक्षाकर्मीहरूको संयुक्त टोली र स्थानीयवासीबीच शनिवार बाराको पचरौता बेनौलीमा झडप हुँदा ९ जना विद्युत् कर्मचारीहरू घाइते भएका छन्। जसमध्ये एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा विद्युत् कर्मचारीहरू ३० वर्षीय अजयकुमार पटेल, ३५ वर्षीय कमलेश गिरी, ३२ वर्षीय श्यामलाल यादव, ४१ वर्षीय लक्ष्मीनारायणप्रसाद कलवार, ३६ वर्षीय उद्घव कुशवाहा, ४५ वर्षीय चन्देश्वर ठाकुर, ३४ वर्षीय नन्दकिशोर महतो, ५० वर्षीय इन्जिनियर सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
झडपको क्रममा स्थानीयवासीले विद्युत् कर्मचारीहरूमाथि ढुङगामुढासमेत गरेको प्रहरीले बताएको छ। गम्भीर घाइते ३१ वर्षीय रामबाबू चौधरीको प्रारम्भिक उपचार कलैया अस्पतालमा भएपछि थप उपचारको लागि वीरगंज लगिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार कलैया अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। घटनापछि उक्त क्षेत्रमा रहेको पचरौता फिडरको लाइन अनिश्चितकालको लागि बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण, कलैया शाखाका प्रमुख उमेश झाले बताए। टोलीलाई कुट्ने गाउँको लाइन बन्द रहने उनले बताए। उक्त फिडर अन्तर्गत २० वटा गाउँमा विद्युत् आपूर्ति गर्ने गरिएको छ।
टोलीलाई कुटपिट गर्ने गाउँलेलाई कानुनी कारबाईको दायराभित्र ल्याइ कारबाईस्वरूप ब्ल्याक आउट गरिने उनले बताए। चुहावट नियन्त्रण टोलीका सम्पूर्ण घाइतेहरूको उपचार नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने आश्वासन केन्द्रबाट पाएको प्रमुख झाले बताए। गाउँलेले टोलीले बेलवाबाट बरामद गरी ल्याएको तीन थान पानी तान्ने मोटर र उक्त गाउँबाटै समातिएको दुईवटा मोटर र एक थान मिटरसमेत लुटेर लगेको टोली प्रमुख इन्जिनियर सीताराम साहले बताए।
सो गाउँमा रहेको मिलबाट मिटर खोल्ने क्रममा डेढ/दुई सयको सङ्ख्यामा आएका गाउँलेले एक्कासि टोलीलाई घेराबन्दी गरी आक्रमण गरेको साहले बताए। गाउँलेले लखेटी लखेटी विद्युत् कर्मचारीहरूलाई कुटेको साहले बताए। टोलीमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणभन्दा बाहिर रहेकोले यस्तो अप्रिय घटना हुन पुगेको जनाइएको छ।
हामी त्यहाँबाट नभागेको भए गाउँलेको हुलले हामी प्रहरीको हतियारसमेत खोसी लिन्थ्यो नाम नछाप्ने सर्तमा एक प्रहरीले बताए। विद्युत् चुहावट नियन्त्रण गर्न गाउँ पुगेको टोलीले लोडसेडिङको मार खपीरहेको बेलामा किसानलाई दु:ख दिएको भन्दै गाउँलेहरूको हुलले टोलीलाई
निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको स्थानीय बासिन्दाले बताएका छन।
खेतमा पानी हाल्न डिजल पनि पाउँदैन, ब्ल्याकमा पाए पनि महँगो छ, स्थानीय सोनालालप्रसादले भने नियमित बिजुली पनि छैन। लोडसेडिङले कुनै काम नै हुन सकिरहेको छैन स्थानिय किसानलाई भदैया धान जोगाउन समस्या परेकोले आक्रोशित गाउँलेहरूले यसरी विद्युत् चुहावट नियन्त्रण टोलीलाई पिटेको उनले बताए। विद्युत् चुहावट नियन्त्रण टोलीलाई कुटपिट गरी घाइते बनाउने गाउँलेलाई कानुनी कारबाई गरिने बाराका प्रहरी उपरीक्षक मनोज
न्यौपानेले बताए। गाउँलेको कुटाईबाट केही प्रहरीसमेत सामान्य घाइते भएका छन्।