प्रस, निजगढ, ११ जेठ/
बाराको डुमरवाना टाँगियाबस्ती लगायत वरपरका वन क्षेत्रमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने कुराले चर्चा पाउँदै गर्दा बाराको वन क्षेत्रमा व्यापक हरियो रूख चोरी तस्करी बढेको छ। वन कर्मचारीको संरक्षणमा वन क्षेत्रभित्र तस्कर समूहले दिनदहाडै रूख ढाल्ने गरेका छन्। चोरी तस्करी गरी ल्याइएका हरियो गोलाइ खुलेयाम घर आँगनमा चिरान गर्दै ट्रक, टायरगाडामा राखी समिल र अन्यत्र बिक्री हुने गरेको छ। जिल्ला वन कार्यालय, बाराको मातहतमा रहेका तामागढी, मधुवन नयाँ बस्ती, डकाहा रेन्जपोस्ट, पसाहा रेन्जपोस्ट, हलखोरिया वन रेन्जपोस्ट, इलाका वन कार्यालयका अधिकांश कर्मचारीको संलग्नतामा हरियो गोलाइ तथा चिरान काठ तस्करी हुने गरेको स्रोतले जनाएको छ। तामागढी इलाका वन कार्यालय, कोल्भी र मधुवन नयाँ बस्तीको वन क्षेत्रको हरियो ठाडो सालको रूख चोरी तस्करी गरी पेशेवर काठ तस्करहरूको समूहले चिरान गर्दै बिक्री गर्ने गरेपनि वन कार्यालयका कर्मचारी बेखबर बनेका छन्। तस्करहरूले काटेका रूखहरू गस्तीमा रहेका केही सचेत कर्मचारीहरूले नियन्त्रणमा लिएपनि झिसमिसेमैं रूखका ठुटा र गोलाइमा चिह्न लगाउँदै वफादार बन्ने कर्मचारीहरूको वर्चस्व बारामा बढेपछि बाराको वनजङगल क्षेत्रका बहुमूल्य रूखहरू सङकट एवं जोखिममा परेका हुन्।
राजमार्ग गस्तीमा रहने प्रहरी प्रशासनकै संरक्षणमा काठ चोरी तस्करी बढेको स्थानीय स्रोतको दाबी छ। अवैध साल, सतिसाल, करम लगायतका गोलाइहरू खुलेयाम घर– आँगनमा चिरान हुने गरेको छ। टाँगियाबस्तीमा अहिले पेशेवर काठ तस्करी, वन कर्मचारी र प्रहरी प्रशासनबीच आर्थिक चलखेल भइरहेको स्थानीय स्रोतको दाबी छ। वन कर्मचारी प्रभावकारी वन ऐन नभएको कारण कारबाई गर्न कठिनाई भइरहेको बताउँछन्। वन सम्बन्धी राष्ट्रिय नीति तयार गरी यथाशीघ्र पालना गराउन सरकार नलाग्ने हो भने केही दशकमैंं तराईमा पाइने साल प्रजातिका सखुवाका रूखहरू केही दशकमैं एकादेशको दन्त्यकथा बन्ने सचेत वन कर्मचारी तथा अधिकृतहरू बताउँछन्। यसरी दिनदहाडै वन–जङगलका रूख सिध्याउन पल्केकालाई कसले कारबाई गर्ने बेलैमा सोच्ने बेला आइसकेको छ।