देश दीर्घसूत्री बनेको छ, किनकि यहाँका नेताहरूमा राष्ट्रियता पटक्कै छैन। राष्ट्रियताको नारा त सबै लगाउँछन् तर राष्ट्रियता नारामा होइन, राष्ट्रप्रेममा खोज्ने आवश्यकता कसैले महसुस गर्दैन। राष्ट्रप्रेम भनेको प्रत्यक्षरूपमा कुनै किसिमबाट पनि राष्ट्रको हानि नोक्सानी नहोस् भन्ने हो। अरू कसैले राष्ट्रमा हानि–नोक्सानी पुर्याउन खोज्छ भने त्यसको सबल प्रतिकार गर्नु राष्ट्रियता हो। झन् आफैंले जानेर वा नजानेर कुनै पनि प्रकारको राष्ट्रिय अहित हुन दिनु त सरासर राष्ट्रघात हो। यस कसीमा हामीले नेपाल र यहाँका नेताहरूको व्यवहारको विश्लेषण गर्यौं भने कसैमा पनि राष्ट्रप्रेमी भन्न मिल्ने कुनै विशेषता पाइन्न। नेताहरूले गर्दा नै आज देशको वन–जङगल झन्डै मासिइसकेको छ। पर्याप्त विद्युत् आपूर्ति हुन नसकेको बर्सौं भइसक्यो तर नेताहरूको गिदीमा विद्युत् आयोजनाहरू निर्माण गर्ने कुनै जुक्ति फुर्दैन। देशलाई आर्थिकरूपले सम्पन्न बनाउन उद्योगीकरण नीति लिनुपर्नेमा भएका कल–कारखानाहरू बन्द भइरहेका छन्। देशमा खपत हुने अर्बौं रुपियाँको औषधिमध्ये ७५ प्रतिशत विदेशबाट आउँछ, देशको औषधि कारखाना महिनौं बन्द हुन्छ।
भारत सरकारले बनाइदिएको गण्डक नहर आज जीर्ण अवस्थामा पुगेको छ, कुन दिन कुन चाहिं संरचना भङग भएर पूरा आयोजना चौपट हुन्छ भन्न सकिने अवस्था छैन। किनकि नहरको सर्भिस रोड भएर भारी वाहनहरू दिनरात कुदिरहेका छन्। यसले गर्दा नहरका पुल, पुलेसा, कल्भर्ट, एक्वेडक्ट आदिमा चिरा परिसकेको छ। त्यसैगरी पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्डमा १३ किलोमिटरमा रहेको पक्की पुललाई वर्षाको भेलसँगै आएको बालुवाले पुर्न लागिसक्यो। पुल पुरिनलाग्दा कि त ठूलो भेलले यसलाई बगाएर लान्छ कि सवारीसाधनहरू दुर्घटनामा पर्छन्। नाङगो आँखाले देखिने यी राष्ट्रिय क्षतिमाथि नेताहरूको आँखा पुगेको छैन। भोलि कुनै क्षति भयो भने नेताहरू हामीलाई जानकारी भएन, सम्बद्ध निकायले सूचना गरेन भनेर पन्छिन सक्छन् तर सम्बद्ध निकायलाई राष्ट्रिय हितबारे चासो राख्न सिकाउने के नेताहरूको कर्तव्य होइन ? यस्तो कुरामा बानी पारेको भए पो कुनै निकायले नेताहरूलाई खबर गर्छ। सबैलाई थाहा छ नेताहरूको सोख भनेको कुर्सीका लागि हानाथाप गर्नु, कर्मचारीको सरुवा–बढुवा गरेर कमिशन कुम्ल्याउनु र राष्ट्रको जति क्षति भएपनि आफ्नो स्वार्थमा धक्का लाग्न नदिनु हो।
घरको अभिभावक नै कर्तव्यबोधबाट वञ्चित छ भने अन्य सदस्यको के हाल होला सहज अनुमान गर्न सकिन्छ। यस्तो पनि छैन कि नेपालका कर्मचारीहरू नेताहरूको अवज्ञा गरून् १ नेपालको निजामतीतन्त्र कहिल्यै पनि त्यति शक्तिशाली भएन कि नेताहरूको गलत कामको विरोध गरोस्। झन् देशमा लोकतन्त्र आएपछि राजनीतिक दलहरूले सबै क्षेत्रमा जस्तै निजामतीतन्त्रमा पनि दलीय भागबन्डा लगाएर कर्मचारीहरूलाई झन् दुर्बल तथा दलप्रति आग्रही बनाउन र देशलाई रसातलमा पुर्याउन कुनै कसर बाँकी राखेका छैनन्। यसर्थ बेलामा गरेको कामले सानो लगानीमा ठूलो भरथेग पुग्न सक्छ भने समय भिड्किसकेपछि ठूलो लगानीको आवश्यकता पर्ने र त्यस अन्तरालमा यात्रु तथा सवारी साधनको जोखिम मोल्नुपर्ने हुन्छ।