सीमा सुरक्षा बललाई थप दायित्व दिइएको छ र उसले त्यसको निर्वाह गर्दछ भने राम्रै कुरा हो। तर जब मूल काम छाडेर सहायक कार्यप्रति सशस्त्र बलको दृष्टि भौंतारिन थाल्दछ भने नियत खोटो हो भनी बुझन गार्हो पर्दैन। निकै समयदेखि नेपाल सरकारले नियुक्त गरेको सीमा सुरक्षा बलको काम सीमा सुरक्षा त हुंदै होइन, किनभने सीमा सुरक्षा उसको बुताको काम नै होइन। अब सीमा क्षेत्रमा बसेर उताका जोरीपारीसंग जोरी खोज्नु पनि भएन, त्यसैले सीमा सुरक्षाको काम आजसम्म भ्याएजति नागरिकले नै गर्दै आएको छ। सीमा सुरक्षा बलको काम चाहिं र्सवसाधारण नेपाली जनतामाथि हैकम जमाउने मात्र देखिएको छ। दीन-हीन, दुइ पैसा जोगियोस् र परिवारको पेट पालियोस् भनेर भारतीय बजारबाट दैनिक उपभोगका लागि ल्याएको सरसामानमा किचलो झिकेर अशक्त बाघले झिंगा टिपेर खाएजस्तो पैसा झार्ने काम मात्र यिनको जिम्मा रहन गएको छ। जनता पनि कति निरीह छ भने दुइ पैसा जोगाउन उसले भारतीय एसएसबीको धाक-धम्की त सहन्छ नै नेपाली प्रहरीको शोषण पनि बाध्य भएर सहन्छ।
सीमा सुरक्षा बलले यसरी दैनिक उपभोगका लागि ल्याइएको सामान पनि रोक्न खोज्नु महान् राष्ट्रभक्तिपूर्ण कार्य हो, यदि यिनीहरूले टयाक्टर र ट्रकमा आउने गरेको सामानप्रति पनि समान दृष्टिकोण राख्ने गरेको भए। ठूला साधनहरूमा ठूला तस्करहरूको सामान हुन्छ जसका लागि सीमा सुरक्ष्ँा बलका ठूला हाकिमहरूको ठूलो पेट भर्ने तारतम्य मिलाइन्छ। यसलाई छुनै भएन। सीमा सुरक्षाको नाममा भारतीय सीमा सुरक्षा बलसंग भिड्नै सकिन्न, ठोरीमा नेपाल सीमाभित्र पसेर भारतीय एसएसबीले हस्तक्षेप गर्न सक्छ तर यी नेपाली प्रहरी चाहिं अनावश्यक हस्तक्षेपको प्रतिकार पनि गर्न सक्दैनन्। ठूला तस्करका ठूला गाडीहरू समाउनै सक्दैनन् अनि खाली बसेर गरून् पनि के - नेपाली जनता, त्यो पनि गाउंको, अशिक्षित, अपठितलाई जहां पनि जे कुरामा पनि हेप्न त सकिन्छ नै। हेप्ने क्रममा दुइ पैसा हातमा पनि पर्छ भने राजस्व जोगाउन गरेको प्रयास भनेर नाम पनि किन नकमाउने - भोजपुरीमा एउटा उखान छ- भथुवा पर सितुवा चोख। सितुवा सिपीलाई भनिन्छ जसको खपटा घोटेर तिखो बनाई पहिले-पहिले काट्ने काममा प्रयोग गरिन्थ्यो। तर यसले नरम कुरो मात्र काट्न सक्थ्यो। त्यसैले उखान नै चल्यो भथुवाका लागि सितुवा नै चोटिलो औजार हो।
बग्रेल्ती उम्रेका राजनीतिक दलका कार्यकर्ताहरूबाट प्रताडित, आफनो स्वार्थका लागि देश र जातिको नाम बेचेर समूह सञ्चालन गरेका भूमिगतहरूको धाक-धम्कीबाट त्रसित, गाउंका सामन्तहरूबाट पीडित, साहूबाट शोषित, गाविस सचिवहरूबाट अपहेलित र्सवहारा नेपाली गाउंले जनताले, जसको आय भनेको खेतीहर मजदुरी गर्नुसम्म सीमित छ, उसले भारतीय बजारबाट सस्तो सामान खरिद गर्दा, किनकि सीमावर्ती भारतीय क्षेत्रमा कोस-कोसमा बजार छ जबकि नेपालमा चार कोसमा पनि बजार भेट्न सकिन्न, राष्ट्रको कुन ठूलो राजस्व मासियो ? भंसार दर बढाएर तस्करीलाई प्रोत्साहन दिने, तस्करीलाई समानान्तर व्यवसायको दर्जा दिलाउने नीति लिने सरकार नै ठूलो तस्कर होइन र १ अनि किन निर्धाको अभिशाप बोक्नु ?