रामशरण पुडासैनी, मकवानपुर, ९ असोज/
सीमा क्षेत्रमा देखिएको विवाद र अपराध न्यूनीकरणका लागि हेटौंडामा शनिवार नेपाल-भारत सीमा क्षेत्रका सुरक्षा तथा प्रशासन अधिकारीहरूको बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा देखा परेको अपराध न्यूनीकरण गर्न दुवै पक्षबीच सहमति भएको छ।
सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्राविधिक टोली बनाउने, लागूऔषध कारोबार नियन्त्रण गर्ने, पर्सा जिल्लामा भएको गांजाखेती निरुत्साहित गर्ने, हतियारको खुलेआम ओसारपसार रोक्ने, भारतद्वारा भएका सीमा अतिक्रमणलाई पुनरावलोकन गर्दै सीमा विवादका क्रममा भएका क्षतिको पर्ूर्ति गर्ने सहमति भएको नेपाली टोली प्रमुख पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताए। उनले पूर्वी चम्पारणका प्रशासन प्रमुख नन्देश्वर लाल र पश्चिमी चम्पारणका प्रशासन प्रमुख देवराज देवको ध्यानाकर्षण गराएको बताए। प्रजिअ झाले गलत कामकारबाई रोक्न पनि सहमति भएको बताए। एसएसबीको ज्यादति सम्बन्धमा नेपालका प्रमुख जिल्ला अधिकारीहरूले उठाएको सवाल सम्बन्धमा सिङगो फोर्स दोषी नभएको भन्दै व्यक्तिको नाम दिए कारबाई गर्ने प्रतिबद्धता भारतीय पक्षले व्यक्त गरेको नेपाली टोली प्रमुख झाले जानकारी दिए।
सीमा क्षेत्रमा हुने गरेका अपराध, लागूऔषधको कारोबार, हतियार आयात-निर्यात बन्द गर्न दुवै पक्ष सहमत भएका छन्। दुवै पक्षले शनिवार नै सहमतिमा हस्ताक्षरसमेत गरेका छन्। विभिन्न समयमा उठ्ने गरेको सीमा विवादको विषयमा समेत बैठकमा छलफल भएको थियो। भारतीय पक्षले आफनो पक्षका समस्या र नेपाली पक्षले आफ्नो पक्षका समस्या प्रस्तुत गरेका थिए। पर्सामा आगामी दिनमा कहींकतै लागूऔषध गांजाखेती नहुने र पर्साको ठोरीमा केही घर विस्थापित भएको विषयमा प्राविधिक टोलीले अध्ययन गर्ने सहमति बनेको छ।
भारतको बिहार राज्यमा सेप्टेम्बर २८ तारिखमा हुने चुनावपछि हाल भएका निर्णयहरूलाई कार्यान्वयन प्रक्रियामा लैजाने बताइएको छ। बैठकमा बारा, पर्सा, रौतहट, चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरूको सहभागिता थियो। भारतीय टोलीको नेतृत्व पूर्वी चम्पारण क्षेत्रका डीआईजी उमेशकुमारले गरेका थिए। बैठकमा पूर्वी चम्पारणका प्रशासन प्रमुख नन्देश्वर लाल, पश्चिमी चम्पारणका प्रशासन प्रमुख देवराज देवलगायत भारततर्फा २२ र नेपाली २४ जनाको टोली सहभागी थियो। दिउंसो १ बजे सुरु भएको बैठक दुइ घण्टा चलेको थियो।